मुख्यमन्त्री गुरुङ भन्छन्ः यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाए - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

मुख्यमन्त्री गुरुङ भन्छन्ः यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाए



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मीका लागि ‘रेडलाइट एरिया’ को बहस अघि बढाउनुपर्ने बताएका छन्।

धेरैलाई मन नपरेको तर, चलिरहेको यौन व्यवसायलाई व्यवस्थित गर्न पनि रेडलाइट एरियाबारे बहस चलाउन जरुरी रहेको उनले बताए।

पोखरामा मंगलबार भएको पर्यटनसम्बन्धि छलफल कार्यक्रममा उनले यौन व्यावसायीलाई व्यवस्थित बनाउन भिन्दै परिचयपत्रको व्यवस्था गर्न समेत सकिने उनले बताए। पोखराबाट आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले खबर लेखेका छन्।

‘धेरैलाई मन नपर्न सक्छ, तर, यौन व्यावसाय चलिरहेको छ’, उनले भने, ‘त्यो धन्दा हो। त्यसले अब कि त रेड एरिया भनेर छुट्टै ठाउँ दिनुप-यो। भिन्दै ठाउँ हुँदैन भने परिचयपत्रको व्यवस्था हुनुपर्छ।’

जति नै सुकै रोक्न खोजिए पनि यो व्यवसाय नरोकिएको उनले बताए। ‘प्रहरीले जता पनि समाएको छ। एकथरिको पेशा व्यवसाय भइरहेको छ’, उनले भने, ‘होटलवालालाई समातेर लग्यो, पैसा ति-यो छुट्यो, अनि अर्कोलाई समातेर लग्यो पैसा ति-यो छुटयो, जेल गएको मैले देखेको छैन। सबैजना पैसा तिरेर निस्केका छन्।’

यौन व्यवसाय व्यवस्थित नहुँदा जनताले दुःख पाएको उनले बताए। ‘यो छलफलको विषय हो’, उनले भने, ‘त्यसका लागि कार्ड (परिचयपत्र) दिउँ।

कार्ड दिँदा हामीलाई मात्र थाहा हुन्छ वा होटललाई मात्र थाहा हुन्छ। पुलिसले छापा मार्न आउँदा पनि कार्ड भएपछि समाउन पाएन।’ परिचयत्रपको व्यवस्था गर्ने हो भने पहिल्यै करको दायरामा आउने उनले बताए। ‘अनि थोरैथोरै कर पनि संकलन हुन्छ,’ गुरुङले भने।

उनले यो काम (यौन व्यावसाय) गरिरहने र भइरहेको पनि बताए। यसलाई रेगुलेट गर्न जरुरी रहेको उनले बताए। ‘धेरैजना लेकसाइड जाने कारण पनि त्यही रहेछ’, उनले भने, ‘काठमाडौंबाट जो आयो, बाहिर बस भन्दा नमान्ने, खालि बैदाम क्षेत्र रोज्नुको कारण यो हो। लुकेर गर्दा समाजलाई, लुक्नेलाई वा व्यवसायी कसैलाई फाइदा हुँदैन।’

‘लुकेर गर्दा निश्चिन व्यक्तिलाई मात्र फाइदा हुन्छ,’ उनले भने। यसबारे खुला दिलले छलफल गर्ने बेला भएको मुख्यमन्त्री गुरुङको भनाई छ। ‘यसमा व्यवसाय पनि फस्टिन्छ’, उनले भने। त्यसका लागि शान्ति सुरक्षा बलियो बनाउन सरकार तयार हुने उनले बताए।