पूर्वराजाले भने: अब गणतन्त्रको काम छैन - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

पूर्वराजाले भने: अब गणतन्त्रको काम छैन



काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्रको अभ्यासलाई व्यर्थको प्रयास भन्दै समय बर्बाद नगर्न आग्रह गरेका छन्।

पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्तीको अवसरमा सोमबार शुभकामना सन्देशमा जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले अब गणतन्त्रको अभ्यासमा समय खेर फाल्न नहुने जिकिर गरेका छन्। उनले जनसेवाको चरित्र नभएको जुनसुकै प्रणाली पनि निरर्थक साबित हुने बताएका छन्।

“जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाममा जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसुकै चयन गरियून्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुनेछ,” उनले भनेका छन्, “प्रणाली केवल साधन हुन्। साधन परिवर्तनलाई नै महान उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्।”

उनले अब गणतन्त्रको अभ्यासमा समय खेर फाल्न नहुने जिकिर गरेका छन्। पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, “सबैभन्दा उन्नत दाबी गरिएको तन्त्र (गणतन्त्र)मा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन।”

अहिले राष्ट्रियताका आधार र अस्तित्वमाथि प्रहार भइरहेको उनको भनाइ छ। “राष्ट्रियताका आधारहरूमाथि प्रहार भई देशको अस्तित्व समेत सङ्कटमा पारेको यस स्थितिमा एकताको महत्त्व र बडामहाराजाधिराजका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसूस हामीले गरेका छौं,” उनले भनेका छन्।

विदेशीको चलखेल बढेको उनको जिकिर छ। पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्, “देश परायाहरूको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।”