खबरदार ! गणतन्त्र कसैका बाउको बिर्ता होइन - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

खबरदार ! गणतन्त्र कसैका बाउको बिर्ता होइन



नेपाली जनताको रगतसँग साटिएर गणतन्त्र स्थापना भएको हो । राजनीतिक दलका आआफ्नै दन्तबझान होलान् तर यो नितान्त जनताको अगुवाईमा स्थापित भएको एउटा जनताकै पद्धति हो ।

कतिपय यस्ता ब्यवस्था छन् नेपालमा जुन जनताले आफ्नै अगुवाईमा आफ्नै लागि ल्याए तर उपभोग भने विभिन्न पार्टी र केही नेताहरूले मात्र गरेका छन् । यसको एउटा गतिलो उदाहरण गणतन्त्र नै हो ।

नेपालमा गणतन्त्र स्थापना अत्यन्त कठिन थियो किनकि यो तेतिन्जेल राजनीतिक दलहरूको स्वार्थसँग जोडिएको थिएन । जतिबेला राजनीतिक दलहरुको स्वार्थसंग जोडियो विभिन्न पार्टीले जनता उचाल्ने एउटा अस्त्र चलाए, राजनीतिक स्वार्थ जोडिएपछीको अवस्थामा गणतन्त्र प्राप्ति केही सहज त भयो तर यसलाई गणतन्त्र प्राप्ति राजनीतिक दलको अगुवाईमा भएको भन्न चाहिँ पटक्कै सुहाउँदैन ।

दशक जति दल र दलका कार्यकर्ताले गणतन्त्र भजाएर खाएको भैसक्यो र पनि जनता, राज्य र राजिनीतिको अवस्था हेर्दा अहिले सम्म देशमा गणतन्त्र नै आएको हो कि अन्य कुनै चिज भन्ने सन्देह छ । गणतन्त्रलाई भजाएर खाने भन्दा माथिल्लो स्तरको काम कुनै राजनीतिक दल, गैर सरकारी संस्था र सरोकारवालाले गर्न चाहेका/सकेका छैनन् । देशमा १२ औँ गणतन्त्र दिवस मनाईरहँदा जनताको मनमा भने गणतन्त्र हाम्रो लागि गलत प्रणाली त होइन भन्ने चिसो पसेको अवस्था छ । सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा जनताले व्यक्त गरेका बिचारले केही समयमै गणतन्त्रप्रति मन भरिएको देखाएको छ ।

पछिल्लो समय दुईतिहाईको सरकार बनेपछि गणतन्त्र बलियो बन्छ कि, जनताले गणतन्त्रको छहारी महसुस गरि पो हाल्छन् कि भन्ने तुस थियो तर गणतन्त्र झन्‌झन् कमजोर बन्ने अवस्था सिर्जना हुँदैछ । पछिल्ला केही घटनाहरूमा जनताले न्याय मात्र गुमाएका छैनन्, गणतन्त्र भनेको अर्को रूपको राजतन्त्र नै हो कि भन्ने सोंचको बोझ बोकिरहेका छन् ।

केही राजनीतिक दल, तिनका आसेपासे, केही एनजीयोकर्मी, दलाल र धमिलो पानीमा माछा मार्ने तत्त्वहरूले गणतन्त्रलाई नपुंशक बनाउने अभ्यासमा जुटेको देखिएको छ । र तिनीहरूले आफ्नो बिर्ता बनाउन खोजिएको भेटिन्छ ।

कञ्चनपुरको निर्मला हत्याकाण्ड होस् वा राजधानीमा भीआइपीको सवारी काण्डमा घन्टौँ ट्राफिक जाममा परेको बेला जनताले दिनहुँ भोगेको सास्ती कहीँ पनि गणतन्त्रको आभास छैन । बालुवाटारको जग्गा काण्ड होस् वा अर्थ मन्त्रालयले कुनै अमुक दलका कार्यकर्तालाई बाँडेको राज्यको ढुकुटी होस्, यातायातको सिन्डिकेटमा होस् वा सरकारलाई बुझाउने करमा, तेलको मूल्यमा होस् या तरकारीको मूल्यमा, नेताको चाकरीमा होस् वा सरकारको ब्यवहारमा कहीँ कतै पनि गणतन्त्रको सुगन्ध छैन । छ त केवल स्वार्थमा सेकिएका रोटीको दुर्गन्ध, बदबू, र बेइज्जती ।

यहि नयाँ स्टिकर लगाएको पुरानो बोतलको न्याय व्यवस्था सानालाई ऐन लाग्ने र ठुलालाई चैन हुने शाही प्रवृत्तिलाई कसरी गणतन्त्रको नाम दिन मिल्छ ?

३८ क्विन्टल सुन तस्करी गर्नेलाई प्रधानमन्त्रीसँगै देशविदेश घुम्ने अवसर मिल्ने, तर पियनको जागिरले परिवार पाल्न नसकेर एक हजार घुस लिँदा (घुस लिनु गलत हो तर बाध्यतामा लिनुपर्यो भने यो चन्दा हो) जेल जाने अवस्थालाई गणतन्त्र कसरी भन्ने ?  एउटा तमाङको छोरोले थोरै मात्र जिब्रो चिप्लिँदा पदबाट राजीनामा दिनुपर्ने तर प्रधानमन्त्री दाहिना भएपछि र पार्टीलाई चन्दा उठाउन सक्ने हैसियत भएपछी राज्यकै सम्पत्ति हडप्दा पनि आम माफी हुने अवस्थालाई कसरी गणतन्त्र भन्ने ?

१४ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको १० महिना सम्म हत्यारा पत्ता लाग्दैन, जनताको सेवक भनिने प्रहरीले नै प्रमाण नष्ट गर्छ र दुईतिहाईको सरकारका प्रधानमन्त्रील सार्वजनिक कार्यक्रममा निर्लज्ज भन्दै हिड्छन् ‘हामीलाई स्वतन्त्र रूपले अनुसन्धान गर्न दिइएन’, त्यसपछि गणतन्त्रको अवस्था कस्तो कल्पना गर्ने ? जब दुईतिहाई सरकारले निष्पक्ष छानबिन गर्न सकिन भन्दै निरीहता प्रदर्शन गर्छ जनतालाई कसरी आउँछ गणतन्त्र ?

वाइडबडी काण्डमा निकै चर्केको बहस एकाएक सामसुम पारियो, करिब चार अर्ब घोटालाको यो काण्ड शेरबहादुर देउवाको नाम जोडिएपछि मत्थर भएको चर्चा पनि चल्यो तर अहिलेसम्म चित्त बुझ्दो जबाफ र चित्त बुझ्दो छानबिन पनि हुन सकेन के यसैलाई मैले गणतन्त्र भन्दिनु पर्ने ? यी र यस्ता कैयौँ उदाहरण छन् जसले गणतन्त्रलाई गिज्याइरहेका छन् । देशमा अराजकता फैलिएकै छ, पहुँच हुनेले उन्मुक्ति पाएकै छन्, निर्दोषहरू जेलमा कुँजिएका छन्, पहुँच हुनेहरूको जन्मकैद पनि माफी पाएका छन्, पहुँच नहुनेले छोरी बलात्कृत भएर निर्मम हत्या भएपछि पनि न्याय पाएका छैनन् । सरसर्ती हेर्दा जनताको लागि जनताले नै ल्याएको गणतन्त्रमा केही मसिहाहरूले राज गर्दैछन । विभिन्न राजनीतिक पार्टी, दलाल र आइएनजीओकर्मीहरूले  मात्रै गणतन्त्रको भोगचलन गर्ने सिन्डिकेट लगाएका छन् ।

यसको सीधा अर्थ के हुन्छ भने फरक परिभाषा बनाएर जनतालाई गुमराहमा राखिरहने र आफुले गणतन्त्रलाई बिर्ता बनाउने खतरनाक खेल चलिरहेको छ । यदि जनतालाई यो परिस्थितिमा कम आँकिएको हो, र अबुझ सम्झिएको हो भने यो सरासर गलत हुनेछ ।

खबरदार ! गणतन्त्र कसैका बाउको बिर्ता होइन ।