गाम्का नेपाल बन्द ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गाम्का नेपाल बन्द !



काठमाडौं– वैदेशिक रोजगारीमा साउदी अरब, बहराइन र ओमान जाने नेपाली कामदारलाई स्वास्थ्य परिक्षणका नाममा सिण्डिकेट लगाएर आर्थिक भार थप्दै आएको संस्था गल्फ एप्रुभल मेडिकल सेन्टर (गाम्का)लाई सरकारले बन्द गर्ने भएको  छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले गत जेठ २ गते मलेसिया रोजगारीमा जाने कामदारमाथि स्वास्थ्यलगायत अन्य शीर्षकमा सिण्डिकेट लगाएर आर्थिक ठगी गर्दै आएका ६ संस्था बन्द गराएका थिए।

मलेसियापछि श्रममन्त्री विष्टले साउदी, बहराइन र ओमान जाने कामदारलाई आर्थिक भार थप्दै आएको संस्था गाम्कालाई पनि बन्द गर्न गृहकार्य सुरु गरेको श्रम मन्त्रायलयका एक उच्च अधिकारीले बताए।

गाम्का नेपालमा आवद्ध १२ वटा स्वास्थ्य संस्था अबको केही दिनमा बन्द हुने मन्त्रालयले जानकारी दिएको छ। यो संस्था बन्द गर्ने विषयमा साउदी, बहराइन र ओमान सरकारका प्रतिनिधिसँग पनि औपचारिक छलफल भइसकेको बताइएको छ।

मन्त्री विष्टले नेपालमा संस्था खडा गरेर कामको खोजीमा विदेशिने कामदारसँग जबरजस्ती आर्थिक शोषण गर्ने कार्यमा संलग्न संस्थाहरु बन्द गर्ने बताउँदै आएका थिए।

श्रम मन्त्रालयका अधिकारीका अनुसार मन्त्रालयले वैदेशिक रोजगारी क्षेत्रका सबै वेथीति ६ महिनाभित्र अन्य गर्ने लक्ष्य लिएको छ। जसअनुसार गाम्का नेपाल पनि बन्द गरिने भएको हो।

गाम्का नेपालमा आवद्ध १२ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परिक्षण गराउँदै आएका थिए। साउदी, बहराइन र ओमान रोजगारीमा जाने कामदारले यी मेडिकलमार्फत स्वास्थ्य परिक्षण गराउँदा ५ हजार २ सय ५० रुपैयाँ शुल्क लिँदै आएको आएको छ।

साउदी, बहराइन र ओमान जाने पुरुष कामदारको हकमा स्वास्थ्य परिक्षण गराउँदा २ हजार ९ सय र महिला कामदारको हकमा ३ हजार १ सय रुपैयाँ लिनुपर्ने सरकारी व्यवस्था छ। तर, ५ वर्षदेखि गाम्काअन्तर्गतका १२ वटा स्वास्थ्य संस्थाले सरकारले तोकेकोभन्दा २ हजार भन्दा बढी रकम असुल्ने गरेका छन्।

गत सालबाट गल्फ कोअपरेसन काउन्सिल (जिसिसी)ले अनलाइनबाट आवेदन भर्दा उनीहरुले थप १० अमेरिकी डलर अनलाइन फारमका लागि तिर्नुपर्ने व्यवस्थासमेत सुरु गरिएको थियो।

यी हुन् गाम्कामा आवद्ध १२ स्वास्थ्य संस्था:

-कान्तिपुर डायग्नोस्टिक, शंखमूल, बानेश्वर

-हेल्थ केयर सेन्टर, त्रिपुरेश्वर

-लाइफ केयर प्रिन्स डायग्नोस्टिक, त्रिपुरेश्वर

-साइबा मेडिकल सेन्टर, पुल्चोक

-साउदी–नेपाल मेडिकल सेन्टर, थापाथली

-सिध्दी पोलीक्लिनिक, डिल्लीबजार

-राजाम मेडिकल सेन्टर, चावाहिल

-अक्वा मेडिकल सेन्टर, गौशाला

-अल खालिज मेडिकल सेन्टर, चावाहिल

-अल मन्सुर मेडिकल सेन्टर, बानेश्वर

-मेडिट्रष्ट मेडिकल सेन्टर, चावाहिल

-मेडिएसिया मेडिकल सेन्टर, बाँसबारी