अपुष्ट स्पष्टिकरण दिएपछि भीम रावलमाथि गालीको ओइरो
काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई थप विवादमा तानेका छन् । रावलले राष्ट्रपति कार्यलयमा तीन घण्टा बिताएर फर्केपछि विभिन्न तिकातिप्पानी भैरहेका बेला उनले झनै बाझिने खालको स्पष्टिकरण दिएका छन् ।
संचारमाध्यममा एमाले उपाध्यक्ष रावलले राष्ट्रपति भण्डारीलाई भेटेर पार्टीको विवाद मिलाउन हारगुहार गरेको भन्ने समाचार आएपछि सामाजिक संजालमार्फत राष्ट्रपतिलाई त्यस्तो कुनै आग्रह नगरेको बताएका छन् । तर स्पष्टीकरणमा उनले किन भेटेको भन्ने चाहिं खुलाएका छैनन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग टाढा र अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिँदै गएको आरोप लागिरहेका बेला एमाले उपाध्यक्ष रावलले शनिबार साँझ शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग तीन घण्टा छलफल गरेर फर्केका थिए ।
उनले राष्ट्रपतिलाई किन भेटेको र के बिषयमा छलफल गरेको भन्ने नाखुलाएका कारण बिषय झनै गम्भीर बनेको छ । उनले दिएको स्पष्टिकरणमा कतिपयले आपत्ति जनाएका छन् । कतिपयले रावलको यो स्पष्टिकरणले राष्ट्रपति भण्डारीलाई थप विवादमा तानेको बताएका छन्।
उनकै ट्वीटलाई मेन्सन गर्दै एक प्रयोगकर्ताले प्रश्न गरेका छन्, ‘राष्ट्रपतिलाई विवाद मिलाउन आग्रह नगरेको भए के आग्रह गर्नुभयो ? के छलफल गर्नुभयो स्पष्ट पार्नुहोस । होइन भने यस्ता हावादारी कुरा नगर्नुहोस ।’ त्यतिमात्र होइन रावलको उक्त ट्वीटमा गाली गर्नेको ओइरो लागेको छ ।
रावलले ट्वीटरमा लेख्दै समाचारबारे आपत्ति जनाएका छन् । उनले आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे पनि पार्टी विवादमा मध्यस्थता गरिदिन आग्रह नगरेको स्पष्टीकरण दिएका छन्।
‘राष्ट्रपतिसँगको भेटघाटमा मैले नेकपा (एमाले) को समस्यामा मध्यस्थता गरिदिन आग्रह गरेको भन्ने समाचार मनगढन्त र भ्रामक हो,’ रावलले सोमबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रपतिलाई पार्टी विशेषको विवादमा मध्यस्थता गरिदन आग्रह गर्न मिल्दैन।’