क्रिस गेलले क्रिकेटबाट संन्यास लिने - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

क्रिस गेलले क्रिकेटबाट संन्यास लिने



एजेन्सी- वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। आगामी मे अन्तिम सातादेखि इंग्ल्यान्ड र वेल्समा हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि गेलले संन्यास लिने घोषणा गरेका हुन्।

३९ वर्षीय बायाँ हाते ब्याट्सम्यानले २ सय ८४ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्दै ९ हजार ७ सय २७ रन बनाएका छन्। उनी वेस्ट इन्डिजका लागि ब्राइन लारापछि बढी रन बनाउने खेलाडी हुन्। सन् १९९९ मा डेब्यू गरेका उनले एकदिवसीय खेलमा २३ शतक प्रहार गरेका छन्।

‘अब युवा खेलाडीलाई रमाइलो गर्न दिउँ। जसका कारण म पछाडि बसेर उनीहरुको खेल हेर्न सकु,’ गेलले संन्यास घोषणासँगै भनेका छन्।

एकदिवसीय विश्वकप आगामी ३० मे देखि १४ जुलाइसम्म हुँदैछ। वेस्ट इन्डिजले बार्बाडोसमा इंग्ल्यान्डविरुद्ध खेल्न लागेको ५ खेलको एकदिवसीय सिरिजमा गेल पनि टिममा छन्।

उनले विश्वकपको उपाधि जितेर करिअर टुंग्याउने इच्छा समेत प्रकट गरेका छन्। विश्वकप जित्नका लागि हरप्रयास गर्ने गेलको भनाइ छ।

गेलले सन् २०१५ मा जिम्बावेविरुद्धको एकदिवसीय खेलमा २ सय १५ रन बनाएका थिए। यो स्कोर एकदिवसीय खेलमा ब्याट्सम्यानले एकै इनिङमा बनाएको चौथो उच्च स्कोर हो। उनी एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गर्ने विश्वका ६ खेलाडीमा पर्छन्।

पार्टटाइम अफ स्पिनर गेलले एकदिवसीय खेलमा १ सय ६५ विकेट समेत लिएका छन्। उनले सन् २००४ मा च्याम्पियन्स ट्रफीको उपाधि उचाल्ने अवसर पाएका थिए।

गेलले वेस्ट इन्डिजका लागि १ सय ३ टेस्ट खेलेका थिए। जसमा उनले १५ शतक बनाएका थिए। पछिल्लो समय भने उनी टी-२० खेलका लागि चर्चित छन्। यसर्थ उनी अझै पनि फ्रेन्चाइज लिगका लागि भने उपलब्ध हुने अनुमान गरिएको छ।

उनले विभिन्न फ्रेन्चाइज लिगका लागि ३ सय ६९ टी-२० खेल खेलका छन्। जसमा उनले ८ हजार ३ सय ५८ रन प्रहार गर्दा २१ शतक प्रहार गरेका छन्। देशका लागि भने उनले ५६ टी-२० खेल्दा २ शतक हिर्काएका छन्।