गेलले देखाए कमाल, एकै श्रृंखलामा ४२४ रन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गेलले देखाए कमाल, एकै श्रृंखलामा ४२४ रन



सेन्ट लुसियास् : इङ्ल्यान्ड र वेस्ट इन्डिजबीचको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला २-२ को बराबरीमा सकिएको छ । वेस्ट इन्डिजले शनिबार राति खेलिएको पाँचौं तथा अन्तिम खेलमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई ७ विकेटले हराएपछि शृंखला बराबरीमा सकिएको हो । २५ फेब्रुवरीका लागि तय भएको तेस्रो एकदिवसीय श्रृंखला भने वर्षाका कारण रोकिएको थियो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले २८.१ ओभरमै अलआउट हुनुअघि ११३ रनमात्र बनाउन सक्यो। सेन्ट लुसियाको बाउन्सी पिचमा इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।

इङ्ल्यान्डका लागि क्यारेबियन बलर ओसेन थोमस सबैभन्दा घातक बने । उनले ५.१ ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिए । १११ रन बनाउँदा छैटौं विकेटकोरुपमा मोइन अलीलाई गुमाएको इङ्ल्यान्डले थप २ रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो ।

इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्घको एकदिवसीय खेलमा बनाएको यो सबैभन्दा कम योगफल हो । जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले १२.१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय १५ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान क्रिस गेल एक्लैले ७७ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका गेलले केवल २७ बलको सामना गरी ९ छक्का र ४ प्रहार गरेका थिए ।

इङ्ल्यान्डविरुद्धको यस एकदिवसीय श्रृंखलाका ४ खेलमा गेलले २ अर्धशतक र २ शतक गरी ४२४ रन एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटका लागि आफ्नो नाममा दर्ज गराउन सफल भए । श्रृंखलाको पहिलो खेलमा १३५, दोस्रोमा ५० रन बनाएको उनले चौथो खेलमा १६२ रन बनाए । गेलले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिनुअघि घरेलु मैदानमा खेलेको यो अन्तिम खेल पनि हो । यसै वर्ष हुने एकदिवसीय विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरिसकेका छन् ।