क्रिस गेलको कीर्तिमानको लागि मात्र एक छक्का बाँकी - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

क्रिस गेलको कीर्तिमानको लागि मात्र एक छक्का बाँकी



काठमाडौं – वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले अब कुनै एक अन्तर्राष्ट्रिय खेलमा छक्का हानेमा सर्वाधिक छक्का हान्ने कीर्तिमान बनाउनेछन् ।

सबै किसिमका टी२० म्याचहरूमा ८०० भन्दा बढी छक्का प्रहार गरिसकेका संसारका एकमात्र ब्याट्स्म्यान गेलले सर्वाधिक छक्काको अन्तर्राष्ट्रिय कीर्तिमान भंग गर्न लागेका हुन् । अन्तर्राष्ट्रिय म्याच भन्नाले टेस्ट, एकदिवसीय र टी२० सबैलाई गनिन्छ ।

घरेलु भूमिमा बंगलादेशविरुद्धको शृंखलाको अन्तिम खेलमा ६६ बलमा ७३ रन बनाउने क्रममा गेलले ६ चौका र पाँच छक्का हानेका थिए ।

महमदुल्लाको बलमा छक्का हानेर उनले अन्तर्राष्ट्रिय म्याचमा सर्वाधिक छक्काको कीर्तिमान बराबरी गरे । पाकिस्तानका शाहिद अफरीदी र गेलको नाममा अन्तर्राष्ट्रिय म्याचमा ४७६–४७६ छक्का छन् ।

गेलले अन्तर्राष्ट्रिय एकदिवसीयमा २७५ छक्का हानिसकेका छन् । एकदिवसीयमा सर्वाधिक ३५१ छक्का शाहिद अफरीदीले हानेका छन् । अफरीदीपछि गेलकै नम्बर आउँछ ।

अन्तर्राष्ट्रिय टेस्टमा चाहिँ ९८ छक्काका साथ गेल तेस्रो नम्बरमा छन् । न्युजील्यान्डका ब्रान्डन म्याककलमले १०७ अनि अस्ट्रेलियाका एडम गिलक्रिस्टले १०० छक्का हानेर पहिलो र दोस्रो स्थानमा कब्जा जमाएका छन् ।

टी२० अन्तर्राष्ट्रिय म्याचमा सबभन्दा धेरै १०३–१०३ छक्काको कीर्तिमान गेल र न्युजील्यान्डका मार्टिन गुप्तिलको नाममा छ ।

एजेन्सी