गलत प्रचार गरियो : उपसभामुख तामाङ - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

गलत प्रचार गरियो : उपसभामुख तामाङ



नुवाकोट– गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश ३ की उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन्।

सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यमले अमर्यादित गतिविधि देखाएको भन्दै त्यसबाट आफू दुःखी भएको उल्लेख गरेकी छन्।

‘नेपाल तामाङ घेदुङले मकवानपुर पदमपोखरीको घटना सम्बन्धमा यही चैत ७ गते गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यानाकर्षण पत्रमा स्पष्ट उल्लेख गरिएको र सन्दर्भवश आफू त्यस टोलीमा सहभागी भएको साँचो हो। तर केही अनलाइन मिडियाले नियोजित रुपमा स्पष्ट तथ्य नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई समेत ख्याल नगरी तथ्यलाई बंग्याएर गलत प्रचार गरी बदनाम गरेका हुन्,’ उनले भनिन्।

गौहत्या गर्न पाउनुपर्ने एवं त्यसको मासु खान पाउनुपर्ने कानून चाहिने भनेर माग गरिएको भनेर आएको समाचार झुठो एवं निन्दनीय रहेको र आफू त्यसरी प्रस्तुत नहुनेमा जानकारसमेत रहेको उपसभामुख तामाङले स्पष्ट पारिन्।

‘लडेर मरेको गाईलाई व्यक्तिगत रिसिबीका कारण मारेको आरोप लगाइ सोझा गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने बिचौलियाबाट मकवानपुरका पीडित न्याय माग्दै भौँतारिइरहेका छन्,’ उनले थपिन्, ‘घटनाको वास्तविकता बुझाउने सन्दर्भमा सम्बन्धित निकायसम्म पुर्याएर न्याय प्रदान गर्नु सबैकोे जिम्मेवारी रहेकाले गृहमन्त्रीसमक्ष आफूले त्यस विषयमा ध्यानाकर्षण गराएकी हुँ।’

‘देशमा ठूलो बलिदानको जगमा धर्म निरपेक्षतासहितको नयाँ संविधान जारी भएकोमा संविधानको मूल मर्मसँग बाझिएका कानून क्रमशः संशोधन हुँदै जानेछन्। यसमा अनावश्यक बहस र गलत प्रचारकोपछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ। तामाङले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साइबर कानूनको ख्याल गर्न पनि अनुरोध गरेकी छन्।

नुवाकोटको क्षेत्र नं १ प्रदेश ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश नं ३ को उपसभामुखमा निर्वाचित तामाङ पूर्व कृषि विकास राज्यमन्त्रीसमेत हुन्। रासस