भाई मिलाउन कमल थापाले ‘गाई’ छाडे, राप्रपामा खैलाबैला
काठमाडौं- थापा, राणा र लोहनी समूह मिलेर बनेको एकीकृत राप्रपा ‘गाई’ चुनाव चिन्ह छोड्ने मनस्थितिमा पुगेको छ । ‘हिन्दू राज्य’को एजेण्डा बोकेको पार्टीका लागि ‘गाई’ चुनाव चिन्ह पार्टीको सिद्धान्त र आस्था अनुकूल चिन्ह मानिएको थियो ।
तर पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी चुनाव चिन्ह फेर्ने पक्षमा अन्तिमसम्म उभिएपछि कमल थापा अप्ठ्यारोमा परेका छन् । उनले कि त पार्टीको एकता तोड्नुपर्ने कि त गाई चुनाव चिन्ह छोड्नुपर्ने जटिल स्थितिमा गाई चिन्ह छोड्ने निर्णय गरेका छन् ।
यो निर्णयसँगै थापा पक्षमा ठूलो असन्तुष्टि र रुवाबासी सृजना भएको छ । थापा पक्षका पार्टी प्रवक्ता मोहन श्रेष्ठले ट्वीटमा लेखेका छन्, ‘आज मलाई क्वाँक्वाँ रुन मन लागेको छ ।’ यो अप्ठ्यारो स्थिति सामना गर्नुपर्दा कमल थापा स्वयम् ‘रुने’ अवस्थामा पुगेका छन् ।
उनले ट्वीटमा भनेका छन्, ‘रगत, पसिनाको धरातलमा गाँसिएको भावना र कायम गरिएको चिनो तर्क र आधार विना केही व्यक्तिहरुको हठ तुष्टिकरण र प्रतिष्ठा राखिदिन परित्याग गरिदिनु पर्ने विवशताको पीडा स्वभावतः असहज हुन्छ ।’
थापाको यो ट्वीटले राणा र लोहनीलाई ‘तर्क र आधार विना चल्ने हठी व्यक्ति’ भएको आरोप लगाउँदछ । तर अर्को ट्वीटमा भने कमल थापा सम्हालिन खोजेका छन् ।
उनले लेखेका छन्– ‘हिन्दू राष्ट्रको एजेण्डा बोकेको राप्रपाका लागि गाई उपयुक्त चुनाव चिन्ह हो । तर पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो । परिस्थितिजन्य यो बाध्यतालाई सहज रुपमा लिइदिन साथी/शुभचिन्तकहरुलाई अपिल गर्दछु ।’
थापा निकट बौद्धिक व्यक्तित्व जयन्तनाथ खनालले यो बाध्यतालाई चित्रण गर्न लाओत्सुको एक भनाई ट्वीट गरेका छन्, ‘कहिले काही ठूला युद्ध जित्न स-साना लडाईं हार्नुपर्ने हुन्छ ।’
राप्रपाले अब हलो चुनाव चिन्ह प्रयोग गर्ने सहमति गरिसकेको छ ।
यसअघि हिन्दू धर्मालम्बीहरुको धार्मिक आस्थासँग जोडिएको र संविधानले राष्ट्रिय जनावर मानेको अवस्थामा गाई चुनाव चिन्ह राख्नै नहुने भन्दै निर्वाचन आयोगको आलोचना समेत हुँदै आएको थियो ।
राप्रपाको यो निर्णयसँगै गाई चिन्ह केही समयलाई फ्रिज हुने छ । त्यसपछि निर्वाचन आयोगले फेरि कुनै पार्टीलाई दिन्छ वा सधैंलाई स्थगन गर्दछ, त्यो भने पर्खेर हेर्नुपर्ने हुन्छ ।