गगन थापाले ओलीलाई भने प्रधानमन्त्री ज्यु तपाईंलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

गगन थापाले ओलीलाई भने प्रधानमन्त्री ज्यु तपाईंलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने ?



काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले देखाएको रबैयाप्रति आपत्ती जनाएका छन्। संसदमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राष्ट्रियताबारे नानाथरी कुरा लगाएको तर आज आफू नै राष्ट्रियता धरापमा पार्न लागेको आरोप लगाएका छन्।

उनले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा भारत भ्रमण गर्दा सिंगटा बेच्न गएको र घुँडा टेक्न गएको भन्ने र आज आफूले त्यस्तै गर्दा राष्ट्रवादी भन्ने गरेकोमा आपत्ति जनाए। उनले भने, ‘हिजो सुशील कोइरालालाई लम्पसारवादी भन्नेले भारतको सेना नेपाल किन मगायो?’ संसदमा एमालेका सांसदले भारतीय सेना आउनुमा नेपालको सुरक्षा तदारुकता नभएको भनेर दिएको अभिव्यक्तिको पनि थापाले आपत्ती जनाए। संसदमा एमालेका सांसद महेश बस्नेतले नेपालको आन्तरिक सुरक्षा कमजोर भएको भारतको आँकलनले सेना आएको हुनसक्ने बताएका थिए।

थापाले उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘सत्तारूढका एक सांसदले मेयरलाई सुरक्षा दिन सकेन त्यसैले भारतीय सेना आयो भने। त्यसो हो भने मैले तपाईंलाई महालम्पसारवादी भन्न पाउने कि नपाउने?’ उनले विगतमा भारतका राष्ट्रपति आउँदा तामझाम गरेको भनेर एमाले नेताले लम्पसारवादी भनेको सम्झिदै मोदी भ्रमणमा ओली सरकारले देखाएको व्यवहारले महालम्पसारवादीको व्यवहार देखाएको बताए। थापाले परराष्ट्र मामिलाबारे मुख्यमन्त्रीलाई नचिन्ने र त्यसको जिम्मेवार परराष्ट्र मन्त्रालय भएको बताए। परराष्ट्रमन्त्री शालिन मात्रै भएको र त्यसरी नचल्ने उनको धारणा थियो।

थापाले नाकाबन्दी बिर्सेको छैनौं भन्नेहरूमाथि भएको सरकारको धरपकडबारे पनि आपत्ती जनाए। उनले विगतमा एमाले नेताहरूले नाकाबन्दीलाई लिएर आन्दोलन गर्न मिल्ने तर आज नाकाबन्दी बिर्सेका छैनौं भन्नेलाई धरपकड गर्नु लम्पसारवाद र चाकडी भएको बताए। उनले भने, ‘हामीले नाकाबन्दी बिर्सेको छैन भन्न नपाउने? यो कस्तो लम्पसारवाद हो यो कस्तो चाकडी हो? हिजो अरुलाई कुरी कुरी गर्नुभएको थियो आज आफैँ नांगै हिँड्नुभएको छ।’ थापाले परराष्ट्र मामिलामा नेपालमा एकै धारणा बनाउनुपर्नेमा जोड दिएका थिए।