कुर्सी तोड्ने कांग्रेसका सांसदलाई कारबाही हुनैपर्छ: गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रदेश ५ को प्रदेश सभामा कुर्सी तोडफोड गर्ने कांग्रेसका सांसदलाई कारबाही गर्नैपर्ने बताएका छन ।
उनले गल्ती गर्नैलाई कारबाही गर्नुपर्ने धारणा राख्दै प्रदेशसभा ५ मा दिउँसो कांग्रेसका सांसदहरूले तोडफोड गरेको घटनाप्रति धारणा राख्दै सोमबार साँझ ट्विट गरेका हुन् ।
नेता थापाले आजको घटना कांग्रेसको नीति तथा संसदीय मर्यादा र प्रतिष्ठा बाहिर भएको बताउंदै प्रदेशसभाका सांसदहरूले कुर्ची तोडफोड गरेको समेत उल्लेख गरेका छन्।
नेता थापाले ट्विटमा लेखेका छन्, ‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट आज भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्, आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नैपर्छ।’
नेता थापाले प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउनुपर्ने उल्लेख गर्दै संसदीय अभ्यासभित्र रहेरै आफ्ना आवाज उठाउनुपर्ने समेत उल्लेख गरेका छन्।
उनले कांग्रेसले प्रतिपक्षको भूमिकाबारे आफ्ना सांसदअरूलाई सिकाउन नसकेको समेत उल्लेख गरेका छन्। ‘प्रतिपक्षको भूमिका के-कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो,’ ट्विटमा लेखिएको छ।
प्रदेशसभामा कांग्रेसको कमजोर प्रदर्शन भएको समेत उनको भनाइ छ। ‘मन्त्रीको “घिचारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ,’ नेता थापाले ट्विटमा समावेश गरेका छन्।
प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारका असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउने उनको तर्क छ।