गगन थापालाई बम हान्नेहरु सबै रिहा !(नामावली सहित) - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

गगन थापालाई बम हान्नेहरु सबै रिहा !(नामावली सहित)



गत निर्वाचन प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका नेता गगनकुमार थापामाथि बम आक्रमण गरेको अभियोगमा पक्राउ परेकामध्ये तीन जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार धरौटीमा रिहा गरेको छ । अभियुक्त महेश नेपाली, बिग्रेस लामा र रोशन विष्टलाई रु ६० हजारका दरले धरौटी रकम लिएर जिल्ला प्रशासन कार्यालयले रिहा गरेको हो । कार्यालयले दुई जनालाई भने पुर्पक्षका लागि थुनामा राखेको छ ।

अभियुक्तद्वय रवि गोले र विचारमान तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अर्का अभियुक्त राधी तामाङलाई भने नुवाकोटमा अर्को मुद्दा रहेकाले प्रहरीले नुवाकोटमा पठाइदिएको छ । उनीहरु सबैलाई प्रशासन कार्यालयले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा लगाएको थियो । घटनालगत्तै पक्राउ परेकामध्ये छ जनाविरुद्ध तत्काल जिल्ला अदालत काठमाडौँमा विस्फोटक पदार्थको प्रयोग तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको थियो ।

उनीहरुलाई अदालतले बुधबार रु १० हजारका दरले धरौटी लिएर रिहा गरेको थियो । अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेर उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । जिल्ला प्रशासन कार्यालयले पनि दुई जनाबाहेक सबैलाई रिहा गरेकामा घटनाका पीडितले असन्तोष जनाएका छन् । मानिसको ज्यानसमेत जान सक्ने गरी बम पड्काउनेले रु १० हजार तिर्दैमा छुट्कारा पाउने कानूनी व्यवस्था व्यावहारिक र न्यायपूर्ण नभएको उनीहरुको भनाइ छ ।

घाइतेले दोषीलाई कारबाही गर्नेभन्दा पनि मुक्ति दिने गरी प्रमाण जुटाउने बेलामा मुद्दा नै कमजोर बनाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ४ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार भएर घरदैलो गरिरहेका बेला थापासहितको टोलीलाई लक्ष्य गरी काठमाडौँको चपलीमा गत मंसिर १८ गते बम आक्रमण भएको थियो । आक्रमणबाट थापासहित ११ जना घाइते भएका थिए ।