प्रधानमन्त्री र मन्त्रीहरूको धोती फुस्काउने गगन थापाको त्यो भाषण
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकार र कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति अपराधि भएको बताएका छन् । निकै आक्रामक रूपमा संसदमा प्रस्तुत भएका थापाले देशको बेहाल भएका बेला प्रधानमन्त्री ओली कविता र गीत लेख्दै बसेर जनताको अपमान गरेको समेत आरोप लगाएका छन् ।
थापाले सरकार प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिप्रति लक्षित गर्दै उनीहरूले अपराध गरेको र जनतामाथि गरेको यो अपराधको जिम्मा लिनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीको अहङ्कारका कारण सबै स्वाहा भएको समेत आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा वैठकमा सरकारप्रति निकै आक्रमक देखिएका उनले कोरोना संक्रमण नियन्त्रणमा सरकारले खेलेको भूमिकामाथि नै प्रश्न उठाएका छन् । वैठक शुरु भए लगतै सभामुख अग्नीप्रसाद सापकोटासँग समय मागेर बोल्न थालेका सांसद गगन थापाले यस्तै शैलीले सरकारले कोरोना नियन्त्रण गर्न नसक्ने समेत दावी गरे ।
‘१० अर्ब खर्च कहाँ भयो? हामीलाई यसको हिसाव चाहिन्छ’, थापाले भने, ‘पाँच हजार पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाब देखाउनु पर्दैन? हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ ’ थापाले भने ।
उनले पछिल्लो समय क्वारेन्टिन मान्छे मार्ने थलोको रुपमा देखिएको बताए। प्रधानमन्त्रीले क्वारेन्टिनमा १ लाख ६६ हजार मान्छे बस्न सक्छन् भनेको उल्लेख गर्दै उनले भने, ‘क्वारेन्टिनमा एक लाख ६६ हजार बस्छन भनेर प्रधानमन्त्री आरामले भनिरहनु भएको छ। मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो?’
उनले थपे, ‘भारतबाट आएका नागरिकहरुसँग गरिने ब्यबहार यहि हो ? अदालत, संसद, विज्ञले भने पिसिआर टेस्टको दायरा बढाऊ भनिरहेका छन् । आज सुदुरपश्चिममा कैयौं दिनदेखि स्वाब कलेक्सन रोकिएको छ ।’
सरकारप्रति कडा ओलोचना र व्यङ्ग्यका साथ आफ्ना भनाई राखेका सांसथ थापाले अब प्रतिपक्षी दल सरकारलाई सहयोग गछौँ भनेर मात्रै नबस्ने चेतावनी दिए ।
‘अब हामी प्रश्न गछौँ, उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौं । हामीलाई अब उत्तर चाहिन्छ,’ उनले थपे, ‘१० अरब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । पाँच वटा पिसिआर मेशिन किन्ने, २५ हजार जम्मा किट किनेर १० अरब रुपैयाँको हिसाब किताब देखाउनु पर्दैन ? हामीलाई एक एक कुराको हिसाब किताव चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठ हो । हामीलाई हिसाब चाहिन्छ ।’