प्रचण्ड र माधव नेपाल पनि हुतीहारा हुन्: गगन थापा - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

प्रचण्ड र माधव नेपाल पनि हुतीहारा हुन्: गगन थापा



काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल हुतीहारा भएकाले अर्का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको हिम्मत गरेको बताएका छन्।

नेता थापाले संसद् विघटन हुनुमा प्रधानमन्त्री जत्तिकै उनीहरु पनि जिम्मेवार रहेको आरोप लगाए। थापाले भने, ‘स्थायी समिति, सचिवालय नभनीकन संसदीय दलमा अविश्वासको प्रस्तावको पत्र लगेको भए यो अवस्था आउने थिएन। उहाँहरुकै हुती नभएका कारणले यो अवस्था आएको हो।’

उनले प्रधानमन्त्री ओलीले झैं प्रचण्ड–नेपालले समेत जनमतको अपमान गरेको बताए। उनले संसद्ले ओलीलाई ५ वर्षका लागि मुलुकको तालाचाबी जिम्मा लगाए पनि ओलीले उल्टै संसदको तालाचाबी लिएको बताए।

उनले संसद्बाटै निर्वाचित राष्ट्रपति संसद्विरुद्धको षडयन्त्रमा लागेको भन्दै आक्रोश व्यक्त गरे। ‘संसदबाटै निर्वाचित राष्ट्रपति संसद्विरुद्धको अपराधमा साक्षी मात्रै होइन, साझेदार बन्नुभएको छ,’ नेता थापाले भने, ‘प्रधानमन्त्रीले आफूले ५ वर्ष देश चलाउने भन्दै ढुक्क भएर बस्नुस् भनेको म सम्झन्छु। तर, तपाई प्रधानमन्त्री भएका दिनदेखि कोही पनि ढुक्कले सुत्न सकेका छैनन्, प्रधानमन्त्रीज्यू!’

उनले सरकारविरुद्ध सम्हाल्नै नसक्ने गरी सडक आन्दोलन पनि नभएको र अविश्वासको प्रस्ताव पनि नआएको भन्दै सनकका भरमा संसद् विघटन गरिएको बताए। ‘नेकपाभित्रको झगडा र केपी ओलीको महत्वकांक्षाका कारण सिंगो व्यवस्थामाथि प्रश्न उठेको छ।

एउटा अहंकारी व्यक्ति प्रधानमन्त्री हुँदा संसद र संविधान सिकार भएको छ। संविधानमा कहाँनेर लेखेको छ। संसद विघटन गर्न पाइन्छ भनेर?,’ थापाले थपे, ‘२०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइँदा त्यसको दुरुपयोग भएकाले नै अहिले संविधानमा त्यसको व्यवस्था नगरिएको हो। असंवैधानिकरुपमा संसद् विघटन गर्न पाइन्छ ?’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको राष्ट्रपति हुने नैतिकता गुमाएको बताए। ‘अब तपाई मेरो राष्ट्रपति होइन। केपी ओली ग्याङको एउटा सदस्य मात्रै होे। अब तपाईले जनताको राष्ट्रपति हुने नैतिकता राख्नुहुन्न,’ उनले भने, ‘प्रधानमन्त्रीले संसदमाथि अपराध गर्दा तपाईले रोक्नुहुन्छ भन्ने झिनो आशा थियो। तर, तपाई त्यसकै साझेदार हुनुभएको छ।’

कांग्रेसले यो असंवैधनिक कदमको प्रतिवाद गर्ने उनको भनाइ छ। उनले ओलीले संवैधानिक निकायमा गरिएका नियुक्तिको समेत विरोध गरे। ‘प्रधानमन्त्रीले जाँदाजाँदै संवैधानिक नियकामा नियुक्तिको सिफारिस गर्नुभयो रे। सिफारिसमा पर्नेहरुले बुझे हुन्छ।

तपाईहरुको सिफारिस संवैधानिक आयोगमा होइन ओली आयोगमा भएको होला, हामी मान्दैनौं,’ उनले भने, ‘जालझेलले देश चल्दैन। रक्षकका जिम्मा बसेका भक्षकहरु विरुद्ध एक हुनुपर्छ। सन्काह प्रधानमन्त्रीको सिकार बनेको प्रतिनिधिसभा पुनः बिउँत्याउनुपर्छ।’

थपाले संविधानविरुद्ध षड्यन्त्र गर्नेलाई सडकबाटै ठेगान लगाउन आह्वान गरे। ‘आउनुहोस्, यो संविधानका विरुद्धमा, व्यव्स्थाका विरुद्धमा अपराध गर्नेहरुलाई सडकबाटै ठेगान लगाऔं,’ थापाले भने, ‘अहिले व्यवस्थाका विरुद्धमा आवज उठ्ने खतरा छ। ठेगान संविधानका विरुद्धमा अपराध गर्नेहरुलाई लगाउने हो, संविधानलाई होइन।’