गगनले भने : रवीन्द्रको दुर्घटना हो कि षडयन्त्र तत्काल छानबिन हुनुपर्छ ! - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

गगनले भने : रवीन्द्रको दुर्घटना हो कि षडयन्त्र तत्काल छानबिन हुनुपर्छ !



काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकोप्टर दुर्घटना छानबिन दुःखका बेलाको विषयमात्र नबनोस् भन्दै गम्भीरतापूर्वक लिन सबैको ध्यानाकर्षण गराएका छन् ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री रवीन्द्र अधिकारीसहितलाई श्रद्धाञ्जलि दिन शुक्रबार टुँडिखेल पुगेका नेता थापाले ‘सरकारले जुन छानबिन समिति बनाएको छ, यो एक/दुई दिनको दुःखको बेलाकोमात्रै विषय नबनोस्’–भने ।

‘यत्रो ठूलो दुर्घटना भइसक्दा पनि चेतेनौं भने हामीले कहिल्यैपनि चेत्दैनौं ।’ नेता थापाको भनाइ थियो ।

विद्यार्थी आन्दोलनदेखि नै परिचित मन्त्री अधिकारीसँग आफूले धेरै कुरा सिकेका पनि उनले उल्लेख गरे ।

२०६० सालभन्दा अगाडि नेपालका दलहरुले आफ्नो प्रतिष्ठा गुमाएको र विद्यार्थी आन्दोलन थला परेको अवस्थामा अधिकारीले विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि पनि उनले उल्लेख गरे ।

संयुक्त विद्यार्थी आन्दोलनकाक्रममा अधिकारीको नेतृत्वबाट धेरै कुरा सिकेको उनको भनाइ थियो ।

संविधान निर्माणकाक्रममा संविधानसभा सफल पार्न तथा नेताहरुकाबीचमा हार्दिकता बनाउन अधिकारीले खेलेको भूमिकाको स्मरण गर्दै नेता थापाले तीनओटा संसदमा सँगै रहेर काम गर्दाको अनुभवपनि महत्वपूर्ण रहेको बताए ।

दोस्रो संविधानसभामा कांग्रेस–एमाले एकातिर र माओवादी सडकमा रहेर नेताहरुकाबीचमा बोलचाल नै बन्द हुँदा अधिकारीसहित आफूहरुले राति ११ बजे केपी शर्मा ओलीलाई घरमा भेट्न गएको, पुष्पकमल दाहाललाई भेट्न गएको र दुई घन्टा कुरेर भेटेको पनि स्मरण गरे ।

राजनीतिमा विकासको एजेन्डा मूल हुनुपर्ने धारणा अधिकारीको थियो भन्दै नेता थापाले आफूले एकदमै असल साथी गुमाएको उल्लेख गरे ।

जतिखेर पनि हाँसिराख्न सक्ने, ‘पोजेटिभ’ भइराख्न सक्ने, जुन कुरालाई पनि पोजेटिभ ‘एंगल’बाट हेर्नसक्ने उहाँको गुण अचम्मको रहेको’ थापाले सुनाए ।