ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गगन थापाको माग - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन गगन थापाको माग



काठमाडौं- पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्दै उनलाई प्रधानमन्त्रीबाट हटाउन नेकपासँग आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम पनि नेपालकै भूमिमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका सन्दर्भमा नेता थापाले टिप्पणी गर्दै यसलाई राजनीतिक होइन भनेर नपन्छिन र ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्न नेकपालाई आग्रह गरेका छन् ।

ट्वीटरमा थापाले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।

प्रमलाई राम्रोसंग थाहा छ, यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ । त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई ‘कथित राष्ट्रवादी’ बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो ।’

सत्ताका लागि ओली जेसुकै प्रपञ्च रच्न तयार भएको आरोप लगाउँदै थापाले अगाडी लेखेका छन्, ‘यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने, प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रुपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं ।’

देशभित्र र बाहिर उत्तेजना ल्याउनका लागि नै प्रधानमन्त्रीबाट यस्ता अन्टसन्ट अभिव्यक्ति आएको भन्दै थापाले अब ओलीलाई पदबाट हटाउनुपर्ने माग गरेका छन्। उनले भनेका छन्, ‘प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र ! नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस, अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।’