गगन थापाले भने: ओलीले बालुवाटारलाई भ्रष्टाचारीको अड्डा बनाए
काठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटार भ्रष्टाचारी बस्ने अड्डा भएको बताएका छन् । नेपाली कांग्रेसले सरकारका विरुद्ध गरेको प्रदर्शनलाई सम्वोधन गर्दै थापाले ओलीकै कारण बालुवाटार भ्रष्टाचारीको अड्डा भएको बताएका हुन् ।
सरकारविरुद्ध देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा आयोजित खबरदारी सभामा पूर्वमन्त्रीसमेत रहेका थापाले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने बताए। उनले भने ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ, । ’
प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गर्दे उनले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको आरोप लगाए । उनले पुष्पकमल दाहाल चुनाव हार्ने डर र केपी शर्मा ओलीलाई सिंहदरबारमा बस्ने लोभले एकैठाउँ ल्याएको बताए । उनले भने ‘नेपाल कम्युनिष्ट पार्टी पार्टी नै होइन, यो एउटा लोभीपापीहरुको मञ्च मात्रै हो।’
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर एकसाथ सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।