गगन थापाले भने- सरकारको नारा ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्‍नुस् - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

गगन थापाले भने- सरकारको नारा ‘समृद्ध दमक, सुखी केपी ओली’ राख्‍नुस्



काठमाडौँ । नेपाली काङ्ग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा परिर्वतन गरी ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा राख्‍न सुझाव दिएका हुन् । प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरी आफ्नो निर्वाचन क्षेत्रका लागि सिफारिस गरिएका योजनाहरूको सूचीका सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

सांसद थापाले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्धजस्तो भएको टिप्पणी गरे। महत्त्वाकाङ्‌क्षाविहीन, अभिलाषाशून्य  सपनारहित नीति तथा कार्यक्रमले सरकारसँग सपना देख्‍ने क्षमता पनि नभएको उनको तर्क छ।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक वर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रशंसामा मात्रै अल्झिएको थापाको तर्क छ । सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको ‘मेरो सरकार’प्रति पनि उनले गम्भीर आपत्ती जनाए।

उनले भने, ‘मेरा केही प्रश्नहरू छन्, महामहिम राष्ट्रपतिज्यूको सरकारलाई । यो वर्ष तपाईँको सरकारले संसदलाई आदेश दियो, अदालतलाई तर्सायो, संवैधानिक आयोगलाई गिजोल्यो । के आगामी बर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ र ? चालु बर्षमा तपाईँको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्‍न कानुन बनाउने प्रयास गऱ्यो। भएको कानुनको दुरूपयोग गऱ्यो। के यो बर्ष पनि तपाईँको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?’