गगन थापासँग हल बाँधेर काम गर्छु: विश्वप्रकाश
काठमाडौं-नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापासँग हल बाँधिएर काम गर्ने बताएका छन् ।
विजयी भएको घोषणापछि पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले गगनसँग मिलेर अगाडि बढ्ने बताएका हुन् ।
‘देशले मेरा परम मित्र गगन थापासँग हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा राखेको छ, हामी त्यो अपेक्षाअनुसार काम गर्छौं,’ शर्माले भने ।
बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने जिम्मेवारी आफूहरूको काँधमा आएको उनले बताए ।
‘नेपाली कांग्रेस पार्टीलाई रूपान्तरित बनाउनुपर्छ । जे मत प्राप्त भएको छ, त्यसका लागि देशभरबाट आउनुभएका प्रतिनिधिप्रति आभारी छु,’ शर्माले भने, ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस बनाउने आकांक्षाको जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’
पहिलाभन्दा अझै संयमित र अझै धैर्यताका साथ अघि बढ्ने भन्दै उनले अब काममा प्रतिस्पर्धा हुने बताए ।
उनले सुन्दरीजल जेलमा पुगेर बीपीले रोपेको कपुरको बोटको फेदमा पुगेर उम्मेदवारी घोषणा गरेका थिए ।
आज त्यहीको माटो ढोगेर नयाँ जिम्मेवारीमा अगाडि बढ्ने घोषणा उनले गरेका छन् ।