गगन भन्छन्: संसद नचिन्ने र नमान्ने एमालेसँग किन संवाद गर्ने ? - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

गगन भन्छन्: संसद नचिन्ने र नमान्ने एमालेसँग किन संवाद गर्ने ?



काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेस सांसद गगन थापाले नेकपा एमालेले प्रमुख प्रतिपक्षी दलको भूमिकाको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै थापाले यस्तो बताएका हुन् । सत्तारुढ दलको कमजोरीका बारेमा आवाज उठाउनुपर्ने प्रतिपक्षी दलले सदनको बैठकमा अवरोध पुर्याउनु संसदीय व्यवस्थाविपरीत भएको थापाको भनाइ छ ।

‘हाम्रो संसदीय अभ्यासको क्रममा आज र बुधबारको बैठकमा जे भयो, यो सुखद् कुरा होइन, तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्दा यो स्थिती आएको छ ।’

पूर्वमन्त्रीसमेत रहेका थापाले भने, ‘कुनै विधेयकको विषयलाई लिएर सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर हामी संसद अवरुद्ध गर्दछौं भन्ने अवस्था भएको भए ठिकै हुन्थ्यो तर सभामुख नै मान्दिनँ सांसद नै मान्दिनँ भनेर सदनमा अवरोध गर्नु संसदीय मान्यताविपरीत छ ।’

थापाले संसदनै मान्दिन, चिन्दै चिन्दिन भनेपछि कसैसँग संवाद गर्नुको अर्थ नभएको प्रतिक्रिया समेत दिएका छन्। उनीहरूसँग संवाद गरेर समस्या समाधान नहुने भन्दै थापाले यो भन्दा अरू विकल्प नभएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकबाट बाहिरिँदै गर्दा थापाले यस्तो बताएका हुन्।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैगरी विधेयक पारित गराएको दिनको म स्मरण गराउन चाहन्छु, ऐन, नियम, कानुनले मानेको संसद्लाई जुन दिनसम्म चिन्दिन भन्नुहुन्छ, यो संसद् यसैगरी चल्छ।’

उनले एमाले संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनमा संसदीय मान्यताविपरीत प्रस्तुत नहुन ध्यानाकर्षणसमेत गराएका छन् ।