गगन थापाको प्रस्ताव: बरु हारौँ, गठबन्धन नगरौँ - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

गगन थापाको प्रस्ताव: बरु हारौँ, गठबन्धन नगरौँ



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैसाख ३० गत्ने हुने स्थानीय निर्वाचनमा पाँचदलबीच गठबन्धन नहुने संकेत गरेका छन् । उनले चुनावी तालमेलको विषयमा बहस भैरहेको तर समझदारी भैनसकेको भन्दै एक्लाएक्लै चुनावमा जानुपर्ने बताएका हुन् ।

नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले आफू लगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए। ‘म लगायत केही साथीहरुको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला। तर, नेपाली कांग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो’, उनले भने।

पार्टीका अन्य नेताहरुले भने कांग्रेस एक्लै आफ्नो तागतमा निर्वाचन लड्न सक्ने र लड्दै आएको भएपनि कम्युनिस्ट पार्टीहरुका कारणले तालमेल गर्नुपर्ने बताएको थापाको भनाइ छ।

‘नेपालका कम्युनिस्ट पार्टीहरुको बीचमा चुनावी तालमेल हुने र त्यस्तै मौका पर्दै गर्दा पार्टी नै एक बनाइदिने कुरा हामीले देख्यौँ। त्यसैले हामीले तालमेल गरेनौँ भने कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आएर तालमेल गर्न सक्छन्। त्यसैले त्यसलाई रोक्न पनि तालमेल गर्नुपर्छ भन्ने केही साथीहरुको धारणा रह्यो’, थापाले भने।

पार्टीले तालमेल गर्ने निर्णय गरेको भए पनि त्यसको अधिकार तल्ला समितिहरुलाई भएको थापाको भनाइ छ। पार्टीको निर्णयमै ‘तालमेल गर्न सक्ने’ भनिएकाले तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने उनको भनाइ छ। ‘तालमेल गर्न पनि पाउने, नगर्न पनि पाउने। यसको निर्णय माथिकाले गर्ने होइन, यसको निर्णय तलको समितिले गर्ने’, उनले भने।

थापाले पार्टीको निर्णयको बारेमा कोही अलमलिनु नपर्ने बताए। तालमेल गर्न वा नगर्न पाउने भएकाले तालमेलका लागि कसैले लाद्न नपाउने उनको भनाइ छ।