'गफाडी रवीन्द्र, ठेकीमा गोबर भरेर घिउ बेच्ने कुरा गरे' - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

‘गफाडी रवीन्द्र, ठेकीमा गोबर भरेर घिउ बेच्ने कुरा गरे’



काठमाडौं- केहिदिन यता विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र चर्चा र विवादको केन्द्रमा छन् । उनको दस्तावेज र प्रस्तावलाई लिएर पक्ष र विपक्षमा बहस तातेको छ । देशव्यापी माहोल तताएको उनको प्रस्तावलाई नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेले व्यंग्य गरेका छन् ।

पाण्डेले व्यंग्य गर्दै विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले घिउ बेच्ने गफ दिएर गोबर बेच्न खोजेको बताएका छन्। मिश्रले नेपालीलाई उल्लु बनाएर गोबर बेच्न खोजेको समेत उनले आरोप लगाएका छन् ।

केही दिनअघि मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। मिश्रको उक्त अभिव्यक्तिको यतिबेला चौतर्फी आलोचना भइरहेको छ। कतिपयले रवीन्द्रको बिचार सही भएको भन्दै उनको बचाउसमेत गरेका छन्।

मिश्रको अभिव्यक्तिप्रति लक्षित गर्दै पाण्डेले सबैले आ-आफ्नो बिचार बोकेर राजनीति गर्न पाउने तर, घिउ बेच्छु भनेर गफ दिने गोबर बेच्न खोज्दा समाजलाई गाह्रो हुने बताएका हुन्।

‘आ-आफ्नो बिचार बोकेर बजारमा जो कोही आउन पाउँछ, आएका छन् । ज्ञानेन्द्र, देवेन्द्र, कमल थापा, पुष्पकमल कसैलाई रोकतोक छैन। लोकतन्त्रको सुन्दरपक्ष यही हो,’ पाण्डेले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘ तर घिउ बेच्ने कुरा गर्नेले ठेकीमा गोबर लिएर तेसैलाई बेच्न खोज्दा हो गार्हो भाको, उपभोक्ताहरूलाई!’