गच्छदारलाई उपसभापति बनाउने तयारी - Himal Post Himal Post
  • १४ माघ २०८२, मंगलवार
  •      Tue Jan 27 2026
Logo

गच्छदारलाई उपसभापति बनाउने तयारी



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेको छ। मंगलबार दिउँसो पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापति बनाउने प्रस्ताव गर्दैछन्।

गच्छदारलाई उपसभापति बनाउन सहयोग गर्न आफू पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यसँग छलफल गरिसकेका सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठक सुरू हुनुअघि बरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्दैछन्।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीलाई गच्छदारले गत वर्षको संघ र प्रदेश चुनावपूर्व कांग्रेसमा मिसाएका थिए।

पार्टी एक हुने बेला गरेका सहमति कार्यान्वयन गर्न भन्दै कांग्रेसले गच्छदारलाई उपसभापति बनाउन लागेको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदारलाई उपसभापति बनाउनेबारे पार्टीमा छलफल भएको बताए।

‘पार्टी एक हुँदा गरेका सहमति कार्यान्वयन गर्न लागिएको हो’, उनले भने, ‘विधानको बाधा अड्काउ फुकाउन केन्द्रीय कार्यसमिति तयार भयो भने कांग्रेसमा दुई उपसभापति हुनेछन्।’ कांग्रेसको विधानअनुसार एक जना उपसभापति रहन्छन्।

विमलेन्द्र निधि अहिले उपसभापति छन्।

‘बाधा अड्काउ फुकाउने सहमति भयो भने आजै उपसभापति मनोनित पनि हुन सक्छ’, शर्माले भने, ‘महासमिति बैठकका बेला पनि हुन सक्छ।’

विधानअनुसार निर्वाचित केन्द्रीय सदस्यबाट उपसभापति बनाउनुपर्ने हुन्छ। गच्छदार आमन्त्रित केन्द्रीय सदस्य हुन्। तर पार्टी मिसाउदा गरेको सहमति पार्टीले कार्यान्वयन नगरेको भन्दै गच्छदार रूष्ट छन्। आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठक सार्नेबारे पनि छलफल हुने नेताहरुले बताएका छन्।

कांग्रेसले मंसिर पहिलो साता गर्ने तय गरेको महासमिति बैठक सारेर मंसीर तेस्रो साता पुर्‍याउनेबारे बैठकमा छलफल गर्न लागेको हो। पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन समितिले बनाएको पार्टीको संघीय विधान तथा नेपाल विद्यार्थी संघको संघीय विधानबारे पनि बैठकमा छलफल हुनेछ।