देउवा सरकार बनेपछि गच्छदारको रुवाबासी
काठमाडौं- शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि सार्वजनिक भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले रुवाबासी गरेका छन् । तत्कालिन ओली सरकारका पालामा लुक्दै हिंडेका उनी देउवा प्रधानमन्त्री बनेकै अर्कोदिन अदालतमा उपस्थित बनेका थिए ।
अदालतको फरार सूचीमा रहेका गच्छदार देउवा सरकार बने लगत्तै सार्वजनिक हुँदा सर्वत्र चर्चा समेत भएको थियो लामो समयपछि मिडियाबाजी गरेका छन् । बुधवार पत्रकार सम्मेलन गर्दे उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा आफूमाथि झुठो मुद्दा लगाइएको दावी समेत गरे ।
उनले सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि झुठो मुद्दा लगाएको तर्क गरे । उनले तत्कालीन ओली सरकारले आफूलाई फसाएकोसमेत आरोप लगाए । उनले अख्तियारले स्वतन्त्र रुपमा काम नगरी सरकारको छाँयाका रुपमा काम गरेको भन्दै तत्कालीन सरकारकै षडयन्त्रमा आफूमाथि मुद्दा लगाइएको जिकिर गरे ।
ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको उल्लेख गर्दै गच्छदारले आफूले व्यक्तिगत लाभ लिएर सरकारलाई कुनै हानी नगरेको दावी गरे । उनले प्रस्ताव पेश गरेको आरोपमा आफूमाथि मुद्दा चलाइएको तर अन्यलाई सफाइ दिएको भन्दै अख्तियारले छानीछानी मुद्दा लगाएको प्रतिक्रिया दिए ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ । तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले सो निर्णय गरेको थियो ।
अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा वयान दिन गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित गरेर उपसभापति बनेका गच्छदार पछिल्लो पटक भ्रष्टाचार मुद्दामा मुछिएका थिए । उनको अहिलेसम्म सांसद पद निलम्वन छ ।