गायब सुनका विषयमा तस्करबीच विवाद : अपहरण र हत्या अभियोगमा ३ पक्राउ - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

गायब सुनका विषयमा तस्करबीच विवाद : अपहरण र हत्या अभियोगमा ३ पक्राउ



नयाँ पत्रीका :काठमाडौं ।। तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरिसकेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।

महाशाखा प्रमुख एसएसपी दिवेस लोहनीले तस्कर गरिएको सुनमा विवाद भएपछि सनम अपहरणमा परेको र त्यसपछि हत्या उनको हत्या भएको बताए । ‘तस्कारीको सुन भागबन्डामा उनीहरूबीच विवाद भयो । विवादपछि सनमको अपहरण गरियो । त्यसपछि कुटपिट भयो । कुटपिटकै कारण उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ लोहनीले भने ।

प्रहरीका अनुसार मृतक सनम र घटनामा संलग्न तीनैजना सुन तस्करमा संलग्न अभियुक्त हुन् । उनीहरूले रसुवाको केरुङ नाका हुँदै भारतका विभिन्न बजारमा सुन तस्कार गर्दै आएका थिए । यही क्रममा मृतक सनमले साढे ३३ किलो सुन एकाएक गायब बनाएपछि उनीहरूबीच विवाद बढेको थियो । विवादकै क्रममा उनीहरूले सनमलाई अपहरण गरी अज्ञात स्थल लगेका थिए । कब्जामा लिएका सनमलाई उनीहरूले कुटपिट गर्दै गायब भएको साढे ३३ केजी सुनको सम्बन्धमा सोधपुछ गरेका थिए । प्रहरीका अनुसार कुटपिटकै कारण सनमको मृत्यु भएको हो ।

महाशाखा प्रमुख एसएसपी लोहनीले भने, ‘प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार उनीहरू सुन तस्करमा संलग्न छन् । उनीहरूले केरुङ नाकाबाट सुन तस्कर गर्ने गरेको खुलेको छ । यही क्रममा साढे ३३ केजी सुन गयब गरेको आरोप सनममाथि लाग्यो । अन्ततः यही करणले उनको अपहरणपछि हत्या गरिएको खुलेको छ ।’

गाडीमा भेटियो शव

सनम अपहरण भएको सूचना पाएलगतै प्रहरी मोरङ पुगेको थियो । यही क्रममा प्रहरीले शंकास्पद ठाउँमा चेकजाँच तीव्र पा¥यो । शनिबार बिहान विराटनगर–३ स्थित पोखरिया कन्या मार्गमा हुइँकिएको बा१२च ५९६३ को क्रिम कलरको स्कोरपियो गाडीमाथि शंका लागेर चेक गर्दा प्रहरीले गाडीको डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरिएको शंकास्पद बस्तु भेट्यो । त्रिपाल खोल्दा चार दिनअघि अपरहण भएका सनमको मृत शरीर भेटियो । प्रहरीले गाडीचालक नियन्त्रणमा लियो ।

सोधपुछपछि उनी सनम अपहरणका मुख्य योजनाकार टेकराज मल्ल रहेको खुल्यो । त्यसपछि क्रमशः कृष्ण भन्ने नरेन्द्र कार्की र मोहन काफ्ले पक्राउ परे । प्रहरीका अनुसार उनीहरूले मृत सनमको शव धरान र इटहरीको आसपास पर्ने चारकोसे झाडीमा दहन गर्न लैजाँदै थिए । यही क्रममा उनीहरू पक्राउ परे । एसएसपी लोहनीले भने, ‘अपहरणपछि सनमको हत्या गरे । त्यसपछि शव ठेगान लगाउन यिनीहरूले चारकोसे झाडी रोजे । त्यहीतर्फ शव लैजाने क्रममा उनीहरू समातिए ।’