को हुन राजनीतिक फ्रस्ट्रेसनका शिकार ? - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

को हुन राजनीतिक फ्रस्ट्रेसनका शिकार ?



रवीन्द्र मिश्रलाई नेता देख्नेहरु राजनीतिक फ्रस्ट्रेसनका शिकार हुन भनेर केहि आफुलाई अति विद्वान ठान्ने दलका दलालहरुले लेखेको देखियो । ख़ासमा जनताले रवीन्द्रलाई नेता मानेका होइनन,जसलाई नेता मानेका हुन उनीहरुको नियत तीन दशक बित्दा पनि ख़राबको ख़राब देखे पछि कुनै गैर राजनीतिक व्यक्ति बाट बरु केहि सुधार सम्भव छ कि भनेर एउटा आसाको आँखाले मात्र हेरेका हुन । र यो प्रयोग विश्व राजनीतिमा कहिं सफल पनि देखिएको छ ।

तर ती विद्वान युवा दलालहरुको आँखाले रवीन्द्र लगायत माथि आस गर्ने जमातलाई राजनीति निरपेक्ष सामान्य जनता चाहिं देख्दैन । बड़ा गज्जबको ढोंगी बौद्धिक चश्मा लगाउँछन यी दलालहरु ! यिनलाई राजनीति-निरपेक्ष एक पेटको चटारोले लड़िरहेको सामान्य नागरिक पनि देशमा हुन्छ भन्ने थाहा नै हुँदैन कि क्या हो ?! किन थाहा नहूनु ? हुन्छ । ख़ासमा यिनीहरु ‘ए टु ज़ेड’ सबै नागरिकलाई घोलघाल पारेर आफ़ू जस्तै प्रमाणित गर्न लागिपरेका हुन्छन । संसारमा सबभन्दा ठूला दास यिनै पढेलेखेका मूर्खहरु हुन । जो पढेर,देखेर,बुझेर पनि दास बन्न अभिषप्त हुन्छ,उसमा फ्रस्ट्रेसनको लेभल कति हुन्छ आफै अन्दाज़ लगाउनुस ।

सामान्य जनता जसलाई बिहान बेलूकाको छाकको चिन्ता छ,काम गरी खान पाउने वातावरणको चिन्ता छ,बैंशमै बिदेशिनु पर्ने चिन्ता छ,बूढेशकालमा सर्वसुलभ उपचार पाउन नसक्ने चिन्ता छ,छोराछोरीको शैक्षिक भविष्यको चिन्ता छ,,तिनलाई कति सजिलै फ्रस्ट्रेटेड भन्दिन्छन यी आफै फ्रस्ट्रेटेड दलालहरु ? नागरिक हुनुको आफ्नो नैसर्गिक अधिकार खोज्ने जनता फ्रस्ट्रेटेड अनि केहि गर्न नसकेको कुंठा दबाएर जबर्जस्ती आफुलाई र आफ्ना आराध्य देवहरुलाई लेप लगाएर प्रस्तुत गर्न मात्र डिग्री पढ़ेकाहरु चाहिं रिल्याक्स्ड ?!

नागरिक हो,पेटको चिन्ता हुन्छ,भविष्यको चिन्ता हुन्छ,गरी खान पाउने वातावरणको चिन्ता हुन्छ तब न विकल्प खोज्छ । तिमीहरुका दलले २८ वर्ष सम्म नागरिकलाई केहि सन्तोष हुने काम गरेर देखाएको भए,नागरिकले दैनिक जीवनस्तरमा केहि फरक अनुभूति गर्न सकेको भए किन राजनीति भन्दा बाहिरका रवीन्द्रहरुलाई विकल्प देख्ने थिए नागरिकले ? किन गोबिन्द केसी,धुर्मुस सुन्तली,कुलमान,रवि लामिछने हरुलाई आफ्नो हिरो ठान्ने थिए जनताले ? आख़िर आस गरेर भोट उनीहरुलाई दिएका त होइनन जनताले ! भोट पाएकाहरुले किन गरेर देखाउन सकेनन ? गरेर देखाउन कति समय चाहिन्छ ? छ जवाफ दलालहरु संग ?

राजनीतिको मूलधारमा (संसदमा) बैधानिक इंट्री (थ्रेसहोल्ड) नै नपाएका रवीन्द्र हरुलाई खुइल्याउन रात रात भर जागै बसेर स्क्रिप्ट तयार पार्ने तिमीहरु फ्रस्ट्रेटेड हौ कि सामान्य अमनचयन खोज्ने आम नागरिक फ्रस्ट्रेटेड ! क्या पढेछौ विद्या ! यत्रो वर्षको बा आमाको लगानी,केवल दलको दलाली ?! सुध्र बाबु नानी हो ! समय छँदै सुध्र । गिदि त राम्रै पाका हौ गर्भ बाटै, चिन्तन दूषित बनायौ,चिन्तन फेर !

छूट छ,तिमीहरु आफ्नो आस्थाको दललाई समर्थन गर,भोट हाल,जिताऊ संगै ख़राब कामको खबरदारी पनि गर तर कसैको राजनीति गर्न पाउने अधिकार र जनताको विकल्प छान्न पाउने अधिकारलाई अपमान गर्न विभिन्न आधुनिक आर्टिस्टिक़ शब्द खोजीखोजी छुद्र बौद्धिकता प्रदर्शन नगर । समाज चेतनामा केहि पिछडिएको होला तर तिम्रा गाजले शब्दहरुको भाव बुझ्नेहरुको शंख्या बढ़दो छ दिनदिनै !

मुद्दा रवीन्द्रले राजनीति गर्ने कि प्रचण्डले गर्ने भन्ने हुँदै होइन,जसले गरे पनि सुधारेर गर्ने,सभ्य तरिकाले गर्ने भन्ने हो । अँ सांच्ची ख़ास मुद्दा त आफू बाहेक अरु सबैलाई फ्रस्ट्रेटेड देख्ने तिम्रो भट्किएको तिक्ष्ण मगजलाई ठीक ठाऊँमा ल्याउने हो । तिम्रो त्यो तिक्ष्ण मगजको समाजलाई ज़रूरत छ । बस् प्रयोग सही हुनुपर्यो ।
जय होस !

-हेमन्त गिरी,टोकियो