रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोप हुँदै - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोप हुँदै



कञ्चनपुर, माघ २३

रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका प्रजाति देखिन छाडेका हुन् । खेतबारीमा रासायनिक मल र विषादीको अन्धाधुन्ध रुपमा प्रयोग हुन थालेपछि भ्यागुताका प्रजाति देखिन छाडेको जीवजन्तुबारे अध्ययन गर्दै आउनुभएका मानसिंह भण्डारीले बताउनुभयो ।

“खेतबारीमा हालिएको विषादी र रासायनिक मल बगेर खोला, तालतलैया र नदीमा पुग्ने गरेकाले यसकै प्रभावका कारण भ्यागुता मर्ने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “नदीमा माछा मार्नका लागि विषादी हाल्ने गरेकाले पनि भ्यागुताका प्रजाति लोप हुँदै छन् ।”

वर्षाका बेला खेतबारी, खोला, नदी र तालतलैयामा सामूहिक रुपमा घाँटी फुलाउँदै ठूलो चर्को आवाज निकाल्ने पहेँलो रङका भ्यागुता दुई वर्षयतादेखि कम मात्रै देखिँदै आएको स्थानीयवासी मनिराम चौधरीले बताउनुभयो ।

खोला र नदीमा बजार क्षेत्रको ढलको पानी र फोहरमैला फाल्ने गरेका कारणसमेत पानी प्रदूषित भई भ्यागुताका प्रजाति हराउँदै गएका छन् । केही वर्षयतादेखि भ्यागुता तस्करीको कार्यसमेत यहाँ बढ्दै गएको पाइएको छ ।

दुर्लभ प्रजातिका भ्यागुता स्थानीय बासिन्दालाई समात्न लगाई प्रतिभ्यागुता रु दुईमा खरिद गरी तस्करी हुँदै आएकाले समेत भ्यागुता सङ्कटापन्न अवस्थामा पुगेको समाजसेवी टेकबहादुर हमालले बताउनुभयो ।
“भ्यागुताका सङ्कटापन्न अवस्थाका प्रजातिको तस्करी हुँदै गरे पनि कुनै पनि निकायले यसबारे चासो नदेखाउने गरेकाले दुर्लभ प्रजाति लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो । भ्यागुतालगायत उभयचर संरक्षणका लागि छुट्टै कानुनी व्यवस्था नहुँदा तस्करीले प्रश्रय पाउँदै आएको उहाँले बताउनुभयो ।

बालीनालीका लागि हानिकारक मानिएका किराफट्याङ्ग्रालाई भ्यागुताले आहाराका रुपमा लिने भएकाले भ्यागुता वातावरणमैत्री मानिन्छ । यसलाई लोप हुनबाट जोगाउनका लागि सबै लाग्नुपर्ने कृषि विकास कार्यालय कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार भ्यागुताको वासस्थान विनाश, विषादीको प्रयोग, पुरिँदै गएका तालतलैया सीमसार क्षेत्र, वन विनाश र खोलानालामा हुने प्रदूषणले भ्यागुता लोप हुँदै गएका छन् ।

“भ्यागुताका प्रजाति जोगाउनका लागि किसानले वातावरणमैत्री प्राङ्गारिक मल र जैविक विषादी अत्यधिक रुपमा बालीनालीमा प्रयोग गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । एक अध्ययनानुसार विश्वभरि भ्यागुताका सात हजार चार सय पाँच प्रजाति पाइने गरेका छन् । तीमध्ये नेपालमा १२ प्रजातिका रैथाने भ्यागुता पाइने गरेका छन् ।

नेपालमा पाइने भ्यागुतामध्ये चार प्रजातिका भ्यागुता सङ्कटापन्न अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनको असरले समेत भ्यागुताका प्रजाति लोप हुनमा सघाउ पु¥याएको छ । रासस