इटालीमाथि फ्रान्सको आक्रामक प्रदर्शन
फ्रान्सले विश्वकप फुटबल सुरु हुन दुई हप्ता भन्दा पनि कम समय हुँदा आफ्नो प्रभाशाली लय तथा उस्तै प्रदर्शन कायम राखेको छ ।
१२ दिनपछि रुसमा सुरु हुने विश्वकप फुटबलको पूर्व तयारी स्वरुप भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सले फेरि जित निकालेको छ ।
विश्वकपको उपाधि दाबेदार मध्ये अघि रहेको मानिएको फ्रान्सले शुक्रबार राति भएको खेलमा विश्वकपमा छनौट हुन नसकेको इटालीलाई ३–१ ले हराएको छ ।
फ्रान्सको निसमा भएको खेलमा फ्रान्सलाई जिताउन सामुएल उमटिटी, एन्टोनी ग्रिजम्यान र उसमान डेम्बेलेले गोल गरे । इटालीका लागि लियोनार्दो बोनुचीले एक गोल फर्काए ।
उमटिटीले खेलको ८ औँ मिनेटमा नै गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । २९ औँ मिनेटमा पाएको पेनाल्टीमा ग्रिजम्यानले गोल गर्दै अग्रता दोब्बर पारे । ३६ औँ मिनेटमा इटालीका बोनुचीले एक गोल फार्कए ।
पहिलो हाफमा २–१ को अग्रता लिएको फ्रान्सका लागि डेम्बेलेले ६३ औँ मिनेटमा गोल गरे । विश्वकपका लागि फ्रान्स समूह सी मा छ । यो समूहमा अस्ट्रेलिया, पेरु र डेनमार्क पनि छ ।
यस्तै मैत्रीपूर्ण खेलमा अस्ट्रेलियाले चेक गणतन्त्रलाई ४–० ले हराएको घरेलु मैदानमा भएको खेमला लेकिकेले दुई तथा नाब्बोउटले एक गोल गरे । यस्तै चेक गणतन्त्रका जुगासले आत्मघाती गोल गरे ।