फोरमको काम: आफु सत्तामा मोज गर्ने जनतालाई बेवकुफ बनाउने - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

फोरमको काम: आफु सत्तामा मोज गर्ने जनतालाई बेवकुफ बनाउने



काठमाडौं । संविधान दिवस मनाउने सन्दर्भमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय जनता पार्टी राजपा नेपाललाई बेवकुफ बनाएको छ । केही दिन पहिले उपप्रधानमन्त्रीको पार्टीले नै संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने भनेर समाचार आएकै हुन् ।

जसले कालो दिवस मनाउने राजपाको निर्णयलाई बल पुगेको थियो । तर, संविधान जारी भएको एक दिन पहिले फोरमले संविधान दिवस समारोहमा सहभागि पनि नहुने र कालो दिवस पनि नमनाउने निर्णय गरेको छ ।

यद्यपि, प्रदेश २ को सरकार संयुक्त भएको र स्वायत्तताको मानसिकतमा रहेकाले त्यसबारे केही भन्न नसकिने बताएको छ ।
फोरमका नेता शिवजी यादवले हाम्राकुरासँग भने, ‘केन्द्रमा हामीले दिपावली मनाउँदा भाग नलिने र कालो दिवस पनि नमनाउने । निर्णय गरेका छौँ । यो निर्णय र निर्देशन प्रदेश कमिटीलाई पनि गइसक्यो । जहाँसम्म प्रदेश २ को सरकारको कुरा छ । त्यसमा प्रदेशको स्वायत्तताको कुरा आइरहेकाले वुधबार गरेका गतिविधिले मात्रै थाहा हुन्छ ।’

फोरमको दुई जिब्रा ! 
फोरमको मधेश प्रदेश समितिले संविधान दिवसको विरोधमा कालो दिवस मनाउने निर्णय गरेको थियो । निर्णय विज्ञप्तिमार्फत नै सार्वजनिक भएको थियो ।

मधेश प्रदेश समितिका अध्यक्ष रेणु कुमारी यादवले आइतबार संविधान दिवसको विरोधमा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेकी थिइन् । उनले हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र ब्ल्याक आउट गर्नेसम्मका कार्यक्रमहरु सार्वजनिक गरेकी हुन् ।

तर, केन्द्रले वर्तमान अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी नहुने भन्यो र सरकारले गर्ने संविधान दिवसको कार्यक्रममा पनि नजाने भनेको छ । यसले फोरमका नेताहरुमा द्विविधा देखिएको छ ।

किन यस्तो गरेको ? जवाफमा यादवले भने, ‘हामीले सुरुमा आन्दोलन गर्दा सँगै गरेको हो । चुनाव पनि सँगै लडेको हो । संविधान संशोधनको मुद्दा एउटै छ, यथावत छ । तर, हामी केन्द्र सरकारले संविधान संशोधन गर्ने प्रतिवद्धता गरेपछि मात्रै सरकारमा सहभागि भएका छौँ । यत्ति मात्रै फरक हो । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउने भनेर पाइपलाइनमा राखिसकेको छ । तर, प्रदेश २ को जनमतको कदर गर्न अहिले संविधान दिवसको स्वागत पनि गर्दैनौँ र विरोध पनि गर्दैनौँ । तटस्थ बस्छौँ ।’ फोरमले दुईथरी कुरा गरेर जनतालाई झुक्याएको भनि आलोचना भएकोबारे यादवले परिस्थितिलाई गहिरिएर बुझ्दा त्यस्तो अर्थ नलाग्ने बताए ।