फुटसल प्रतियोगिताको उपाधी देवदह जेसीजको कब्जामा - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

फुटसल प्रतियोगिताको उपाधी देवदह जेसीजको कब्जामा



बुटवल । बुटवल जेसीजले आयोजना गरेको फुटसल प्रतियोगिता २०१८ को उपाधि देवदह जेसीजले कब्जा गरेको छ । शुक्रवार बुटवल योगीकुटीमा रहेको लुम्बिनी फुटसल एरिनामा सम्पन्न भएको खेलमा देवदह जेसीजले सुनवल जेसीजलाइ ट्राईबेकरमा २–१ हराउँदै उपाधि कब्जा गरेको हो ।

निर्धारित अवधिमा खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा ट्राईबेकरबाट निकालिएको हो । सुनवल जेसीज प्रतियोगिताको उप विजेता भएको छ ।

यस्तै कपिलवस्तु जेसीजलाई हराउँदै तिलोत्तमा जेसीजले तृतीय स्थानमा आफूलाई सुरक्षित गरेको छ । उक्त टिम बिचको खेल पनि ४–४ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–२ को गोल अन्तरले तिलोत्तमा तृतीय स्थानमा सुरक्षित भएको हो ।

बुटवल आसपासका क्षेत्रमा रहेका जेसीज शाखाहरू बिचको सम्बन्ध प्रगाढ बनाउने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगितामा बुटवल जेसीज, रामनगर जेसीज, सिद्र्धाथ जेसे पहिलो चरणबाटै बाहिरिएका थिए भने सेमी फाईनलमा तिलोत्तमा जेसीजले भलवारि जेसीजलाई हराएको थियो । प्रतियोगिताको वेष्ट प्लेयरको उपाधि देवदह जेसीजका भीम थापाले पाएका छन् ।

प्रतियोगिताको प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता लीला गिरीले उद्घाटन गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै खेलले समाजलाई एकताको सूत्रमा बाँध्न सहयोग पुराउने बताउनु भएको छ ।विश्वमा खेलले टुटेको राजनैतिक सम्बन्धलाई जोडेका उदाहरणहरू धेरै भएकोले नेपाली समाजमा पनि खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाई छ । कार्यक्रममा नेपाल जेसीज २०१८ का राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले फुटसल प्रतियोगिताले आपसी भाइचाराको भावना मात्र प्रवाह नगरी युवाहरूलाई स्वस्थ रहन सन्देश समेत दिएको बताउनु भयो ।

सहभागी टिमको तर्फबाट बोल्दै कपिलवस्तु जेसीजका अध्यक्ष सुन्दर पाण्डे र देवदह जेसीजका अध्यक्ष विष्णु न्यौपानेले बुटवल जेसीजले अन्तरशाखा सम्बन्धलाई प्रगाढ बनाउन फुटसल प्रतियोगिता आयोजना गरेर महत्त्व पूर्ण भूमिका खेलेको बताउनु भएको थियो । कार्यक्रम प्रतियोगिताका संयोजक अमृत पाण्डेयको स्वागत तथा रमेश अर्यालको सन्चालनमा सम्पन्न भएको थियो । वर्ष २०१८ को लागि बुटवल जेसीजको नेतृत्व सम्हाले लगत्तै अन्तरशाखा सम्बन्धलाई प्राथमिकतामा राख्नु भएका अध्यक्ष यम प्रसाद तिवारीले प्रतियोगिताले एकताको सन्देश प्रवाह गर्न सफल भएको बताउनु भयो ।

जेसीज शाखाहरू बहुशाखा कार्यक्रमको अवधारणालाई अघि सारेर अघि बढेमात्र जेसीज अभियान सशक्त हुने बताउनु भयो ।कार्यक्रममा ८ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक अमृत पाण्डेय बताउनु भएको छ ।