पत्रकार महासंघको महाधिवेशन असार २२ र २३ मा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पत्रकार महासंघको महाधिवेशन असार २२ र २३ मा



काठमाडौं, ११ जेठ

 

नेपाल पत्रकार महासंघको महाधिवेशन आगामी असार २२ र २३ मा काठमाडौंमा हुने भएको छ । महासंघको १३ औं पूर्ण बैठकले ‘व्यावसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ मूल नारासहित २५ औं महाधिवेशन मिति तय गरेको हो ।

यसअघि १२औं बैठकले स्थानीय निकायको पहिलो चरणको निर्वाचनपछि महाधिवेशन जेठ २० गतेका लागि तय गरे पनि दोस्रो चरणको निर्वाचनलाई ध्यान दिएर नयाँ मिति तय गरिएको महासचिव उजिर मगरले विज्ञप्तिमार्फत जनाएका छन् । अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले निर्वाचन भइसकेका शाखा तथा एसोसिएट संस्थाहरूको अधिवेशनको समीक्षा गर्नुका साथै बाँकी चार जिल्ला शाखालाई तत्काल अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।

बैठकले यस अवधिमा पत्रकारिता गरेकै कारण गिरफ्तार गरिएका पत्रकारलाई तत्काल रिहा गर्न पनि माग गरेको छ । महासंघले निर्वाचनकै क्रममा विभिन्न पक्षबाट पत्रकारलाई धम्क्याउने, दुव्र्यवहार गर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गरेका विषयलाई गम्भीरतापूर्वक लिँदै यस्ता क्रियाकलापलाई नियन्त्रण एवं दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बद्ध सबैमा अपिल पनि गरेको कान्तिपुर दैनिकमा समाचार छ ।