पत्रकार महासंघ भारत शाखाको विधान तयार - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पत्रकार महासंघ भारत शाखाको विधान तयार



नयाँ दिल्ली। भारतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ भारतले आइतबार आफ्नो विधानलाई अन्तिम प्रारुप दिएको छ । अध्यक्ष लोकेश शाहको अध्यक्षतामा सम्पन्न बैठकमा विधान सम्बन्धित व्यापक छलफल पश्चात अन्तिम प्रारुप दिइएको हो ।

महासचिव गोविन्द पोखरेलको संयोजकत्व रहेको विधान ड्राफ्ट समितिले बैठकमा अन्तीम प्रारुप दिनका लागि विधान प्रस्तुत गरेको थियो । संयोजक पोखरेलले समितिमा यस भन्दा पहिला पनि दुई पटक प्रस्तुत गरिसकेका थिए । आइतबार बसेको बैठकले सामान्य संशोधन तथा थपघट गरि विधानलाई अन्तीम रुप दिएको महासचिव पोखरेलले बताए ।

“देशमा रोजगारीको अभावमा भारत प्रवासीन बाध्य नेपाली संचार जगतका पत्रकारहरुलाई भारतको जुनसुकै कुनामा रहेता पनि पत्रकारहरुको छाता संगठन अन्तर्गत लिने उदेश्य सो विधानमा उल्लेख गरिएको छ ।” पोखरेलले भने– “भारतमा हामीले छापा, प्रसारण तथा अनलाइन, समाचार संकलन कर्ता, सम्पादन, सम्प्रेषण, समाचार लेखन/पुनर्लेखन, स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, भाषा सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई समेटने गरि विधान बनाएका छौं ।”

पोखरेलका अनुसार विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष केन्द्रमा रहने व्यवस्था रहेको छ । त्यस्तै महिला, आदिवासी जनजाति, मधेशी, संस्थागत र दूरदराज अण्डमान निकोबारबाट समेत केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान रहेको छ ।

पत्रकार महासंघ भारतका अध्यक्ष लोकेश शाहले विधान ड्राफ्ट समितिलाई धन्यवाद प्रकट गरेका छन् । समितिमा गोविन्द पोखरेल, अर्जुन खनाल, इन्द्रकमल जैरु, धनवीर पुन र गणेश विक रहेका थिए ।