पानीले वीरगञ्ज पनि प्रभावित, आधादर्जन वडा डुबानमा - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

पानीले वीरगञ्ज पनि प्रभावित, आधादर्जन वडा डुबानमा



file photo

पर्सा | दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।  महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।

वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए । उनले महानगरपालिकाले वर्षायाम हुनु अगाबै नालीको सफाइ नगरेकाले पानी घर-घरमा पसेर समस्या भोग्नुपरेको गुनासो गरे ।

सडकको पानी जम्मा भएकाले विद्यार्थीलगायत सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । नगरक्षेत्रकोे डुबान केही बेरका लागि मात्र भएकाले नगरवासी आत्तिनु नपर्ने महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले जानकारी दिए । उनले डुबान क्षेत्रमा देखिएको समस्या समाधान गर्न बिहानैदेखि एक्साभेटरसहित कर्मचारी परिचालन गरिएकाले समस्या समाधान हुने बताए ।

एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत नौ आउटलेट ९निकासी हुने ठूला नाला० मध्ये ६ वटाको निर्माण भइसकेकाले जम्मा भएको पानी वर्षा बन्द भएको केही वेरमै बगेर जाने अधिकृत श्रेष्ठको भनाइ थियो ।

पानीको अभाबमा धानको रोपाइँ मात्र २ प्रतिशत भएको यस जिल्लामा दुई दिनदेखि परेको आकासे पानीले रोपाइँ हुने वातावरण बन्दै गएपछि यहाँका किसान हर्षित भएका छन् ।

-रासस