देशैभर वर्षाको बितण्डा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

देशैभर वर्षाको बितण्डा



file photo

काठमाडौं । देशैभर वर्षाका कारण विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ । केही दिन अगिबाट निरन्तर भईरहेको वर्षाका कारण दैनिक कामकाजमा कठिनाईँ भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जानकारी दिएको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।

पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् । तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उहाँको भनाइ छ ।

भारी वर्षाका कारण देशमा विभिन्न ठाउँमा बाढी आउँन थालेको छ । वैजनाथ गाउँपालिका वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आईतबार एकजना बेपत्ता भएका छन् । वैजनाथ गाउँपालिका – ३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताएका छन् । बुढाको खोजी भइरहेको जानकारी उनले दिएका छन् ।

त्यस्तै आइतबार रातिदेखि परेको वर्षाका कारण आएको बाढीले विभिन्न ठाउँका सडकहरु अवरुद्ध भएका छन् । भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध भएका छन् । खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका – ३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । त्यस्तै सिराहाका विभिन्न ठाउँहरुमा पनि वर्षाका कारण जनजीवन अवरुद्ध भएको छ । शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । मिर्चैया, गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।

वर्षाका कारण नारायाण्गढ – मुग्लिन सडक खण्डका विभिन्न ठाउँहरुमा पहिरो खसेको छ । पहिरोका कारण आवतजावत समस्या भईरहेको छ ।

सरकारले सबै ठाउँमा सर्तक रहन आग्रह गरेको छ । बाढीको बढी जोखिम भएका ठाउँहरुमा अझ बढी सर्तक रहन सरकारले आह्वान गरेको छ ।