विश्वकप फाइनलमा मैदान छिर्ने दर्शकलाई जेल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वकप फाइनलमा मैदान छिर्ने दर्शकलाई जेल



मस्को : विश्वकप फुटबलको आइतबार राति भएको फाइनलका क्रममा मैदानभित्र छिरेर खेल बिथोल्न खोज्ने दर्शकलाई १५ दिनको जेल सजाय सुनाइएको छ । फ्रान्स र क्रोएसियाबीच रुसको मस्कोस्थित लुझनिकी रंगशालामा खेलिएको फाइनल खेलका क्रममा चारजना दर्शक एक्कासि मैदानमा छिरेका थिए । उनीहरू मैदानभित्र प्रवेश गर्दा दोस्रो हाफको खेल चलिरहेको थियो ।

एक्कासि दर्शक मैदानभित्र छिरेपछि केही समय खेल अवरुद्ध बनेको थियो । अदालतले ती चारैजनालाई आगामी तीन वर्षसम्म कुनै पनि खेलकुद प्रतियोगिता हेर्न रंगशाला प्रवेशमा समेत रोक लगाएको छ । खासमा उनीहरू रुसको एउटा संगठनका सदस्य हुन् र आफ्नो राजनीतिक माग पूरा गराउन दबाब दिने उद्देश्यले विश्वकपको फाइनलमा उनीहरूले त्यस्तो हर्कत गरेका थिए ।

उनीहरू चारैजना फाइनल खेल चलिरहँदा पुलिसको पोसाक लगाएर ८० हजार दर्शकले खचाखच भरिएको रंगशालामा मैदानभित्र प्रवेश गरेका थिए । ती चारैजनाको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरूलाई तत्कालै सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएका थिए । २१औं विश्वकपको समापन समारोह पनि भएकाले त्यति बेला रुसका राष्ट्रपतिसँगै फ्रान्स र क्रोएसियाका राष्ट्रप्रमुख पनि रंगशालामा उपस्थित थिए ।

यसैगरी विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनो पनि रंगशालामै उपस्थित थिए । मैदानमा प्रवेश गर्ने व्यक्तिहरू आबद्ध संगठनले जेलमा रहेका राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गरिनुपर्ने माग राख्दै आएको छ । विश्व खेलकुदको भावना र मर्ममाथि आघात पु¥याएको आरोपमा उनीहरूलाई जेलसजाय तोकिएको निर्णय अदालतले सुनाएको छ । उनीहरूमाथि अनधिकृत रूपमा प्रहरीको पोसाक लगाएको आरोप पनि लगाइएको थियो ।