फेरी नाकाबन्दी गर्ने राजेन्द्र महतोको चेतावनी - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

फेरी नाकाबन्दी गर्ने राजेन्द्र महतोको चेतावनी



धनगढी- राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले आश्वासन मात्रै बाँडेको आरोप लगाएका छन्।

राजपा जिल्ला कार्य समिति कैलालीले बुधबार धनगढीमा आयोजना गरेको ‘असोज तिन कालो दिन’ विरोध सभामा महतोले अझै आश्वासन मात्रै बाँडे चुप लागेर नबस्ने सरकारलाई चेतावनी दिएका छन्।

‘धेरै भयो हामी पर्ख र हेरको अवस्थामा बसेको,’ उनले भने, ‘धैर्यको पनि बाँध हुन्छ। त्यो बाँध सकिएको छ। फुट्न सक्छ।’ फेरी पुरानो स्थितिमा फर्किन बाध्य नपारियोस ।

‘संविधान सशोधन गर्छु भन्यो, तीन वर्ष सम्म पनि गरेनन्। टिकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेकालाई छुटाउँछु भनेर उल्टै सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिएर सपथ खुवाउनुपर्नेमा जेल हाले,’ उनले गुनासो गरे, ‘यस्तै हो भने हामी सडकमा उत्रिन्छौँ। थरुहट र मधेसी जनतालाई सडकमा उतार्छौ।’

उनले टीकापुर घटना अपराधिक नभई राजनीतिक भएकाले पुर्पक्षका लागि कारागारमा रहेका २६ जनालाई रिहा गर्न र कैलाली–१ बाट विजयी रेशमलाई प्रमाणपत्र दिएर सांसदको सपथ खुवाउन आग्रह गरे।

उनले मधेसी तथा थारुहरुलाई गोली हानेर संविधान जारी गरिएको र त्यसपछि संविधानमा संशोधन नभएका कारण संविधान दिवसलाई कालो दिनका रुपमा मनाएको बताए।

‘संविधान जारी भएको तीन वर्ष भयो। हामीले संशोधनको माग गर्दै आन्दोलन गर्दै आएको पनि तीन वर्ष भयो,’ उनले थपे, ‘न संविधानमा केही परिवर्तन भएको छ, न त हाम्रो आन्दोलनमै।’