संसद अधिवेशन माग गर्न फेरि राष्ट्रपति कार्यालय जाने तयारी
काठमाडौं- नेकपा नेताहरूले संसद्को विशेष अधिवेशन माग गर्दै फेरि हस्ताक्षर राष्ट्रपति कार्यालय बुझाउने तयारीमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संबैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिएको भन्दै उनीहरूले फेरि यस्तो तयारी गरेका हुन् ।
मंसिर ३० गते प्रधानमन्त्री ओलीले संबैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसंगै नेकपामा खैलाबैला नै मच्चिएको थियो । अध्यादेश फिर्ता गर्ने निर्णय पार्टीको स्थायी कमिटीले निर्णय गरिसकेको भएपनि प्रधानमन्त्री ओलीले भने फिर्ता गर्न आलटाल गरेको भन्दै नेताहरू फेरि संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने तयारी गरेका छन् ।
पार्टीको स्थायी समिति बैठक पुस ५ गते तय गरिएको छ । यसअघि बसेको बैठकले अध्यादेश अविलम्ब फिर्ता गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता गर्न आनाकानी गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि तिब्र असन्तुष्टि जनाएको छ । त्यतिमात्रै होइन सहमति भैसकेको बिषयमा प्रधानमन्त्री ओलीले आलटाल गरेको भन्दै ओली पक्षकै केहि नेताहरूले असन्तुष्टि जनाएका छन् ।
पुस १ गते बसेको स्थायी समिति बैठकमा अध्यादेश फिर्ता लिन तयार भएका ओलीले अहिलेसम्म पनि फिर्ताबारे कुनै निर्णय नगरेपछि फेरि हस्ताक्षर बुझाएर विशेष अधिवेशन माग गर्न लागिएको एक सांसदले बताए।
पुस १ गते पनि ८३ जना सांसदको हस्ताक्षर लिएर नेकपाका नेताहरु रास्ट्रपति कार्यालयमा दर्ता गर्न गएपनी रास्ट्रपति कार्यलयले दर्ता नै गरेको थिएन।
नेकपाका स्थायी समिति सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवासमा ६ घन्टा बस्दा पनि सो दर्ता नभएपछी रावल र भुसाल फर्किएका थिए।
आज दिनभर अध्यादेश फिर्तालाई कुर्ने र नलिए विशेष अधिवेशन माग गरेर रास्ट्रपति कार्यालय जाने तयारीमा नेताहरु रहेका छन्।