अमेरिकाका संक्रमण रोग विशेषज्ञ फाउचीले माफी मागे - Himal Post Himal Post
  • ५ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 18 2025
Logo

अमेरिकाका संक्रमण रोग विशेषज्ञ फाउचीले माफी मागे



काठमाडौं- अमेरिकाका संक्रमण रोग विशेषज्ञ एन्थोनी फाउचीले माफी मागेका छन् । उनले कोरोना भाइरसविरुद्ध निर्माण भइरहेको ‘फाइजर’ भ्याक्सिनको प्रयोगलाई दिएको अभिव्यक्तिप्रति माफी मागेका हुन्।

बेलायतले अमेरिकी र जर्मन कम्पनी मिलेर उत्पादन गरिरहेको फाइजर भ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि फाउचीले त्यसबारेमा प्रश्न उठाएका थिए। उनले बेलायतले हतारमा निर्णय गरेको भन्दै आलोचना गरेका थिए।

उनको अभिव्यक्तिको विरोध भएपछि उनले बेलायत र अमेरिकामा भ्याक्सिनलाई प्रयोग गर्ने अनुमति दिने प्रणाली फरक रहेको बताउन चाहेको स्पष्टिकरण दिएका छन्। उनले आफूले उक्त भ्याक्सिन प्रयोग गर्न नहुने नभनेको समेत बताएका छन्।

उनले अमेरिकाले भाइरसविरुद्ध निर्माण भइरहेको भ्याक्सिनलाई मान्यता दिन थप केही समय लगाउने समेत बताएका छन्।

अमेरिकी औषधि उत्पादन कम्पनी ‘फाइजर’ र जर्मनीको ‘बायोएनटेक’ले कोरोना भाइरसविरुद्ध निर्माण गरिरहेको भ्याक्सिनलाई प्रयोग गर्न बेलायतले केही दिनअघिमात्रै स्वीकृति दिएको थियो।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिन प्रयोग गर्न स्वीकृति दिने बेलायत पहिलो राष्ट्र हो।

बेलायतमा औषधिलाई मान्यता दिने ‘द मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी’ले ‘फाइजर भ्याक्सिन’ लाई आपतकालिन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको हो। भ्याक्सिनको क्लिनिकल ट्रायलबाट आएको नतिजाको अनुसन्धान गरेपछि एजेन्सीले फाइजरको प्रयोगलाई ‘ग्रिन सिग्नल’ देखाएको हो। क्लिनिकल ट्रायलको तथ्यांकमा फाइजर ९५ प्रतिशत प्रभावकारी देखिएको थियो। यस्तै, यो भ्याक्सिनबाट वृद्धवृद्धाहरुलाई सुरक्षित राख्न सकिने र भाइरसकै कारण मृत्यु हुने अवस्था कम हुने देखिएको थियो।