फारवेष्ट एग्रीकल्चरको दोश्रो साधारणसभा सम्पन्न
यज्ञराज उपाध्याय / धनगढी ।
फारवेष्ट एग्रीकल्चर सोलुसन एण्ड ट्रेडिङ्ग प्राली (FAST नेपाल) को दोश्रो साधारणसभा मंगलबार धनगढीमा सम्पन्न भएको छ । बिगत दुई बर्ष देखि कृषिका बिभिन्न क्षेत्रहरुमा काम गर्दै आएको फारवेष्ट एग्रीकल्चर तेस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा एक कार्यक्रमका बिच सबै शाखाका प्रतिनिधिहरुको उपस्थितिमा बार्षिक आयव्यय सहित कार्यक्रमहरु समेत सार्वजनिक गरिएको थियो ।
उक्त संस्थाका प्रवन्धक सुगम देउवाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा पार्वती माध्यामिक बिद्यालय बाजुरा बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सर्व बहादुर साउद रहेका थिए । कार्यक्रममा बोल्दै उनले फारवेष्ट एग्रीकल्चरले छोटो समयमा राम्रो काम गरेको बताउदै अहिल आफ्नो जिल्लामा समेत यो सस्थाको शाखा पुग्दा खुशी भएको बताएका थिए । साउदले भने “समय व्यस्तताका कारण बाजुरामा शाखा विस्तार गर्दा आफुले धेरै समय दिन नसके पनि विभिन्न ब्यक्तिहरु संग कुराहरु गरिदिने, नगरपालिका संग सहकार्यका लागि पहल गर्ने किसिमको सहयोग गरेको र आगामी दिनमा अझै सहयोग गर्ने छु ।”
पुरुषहरु भन्दा महिलाहरु बढी भएको यस सस्थाले अहिलेसम्म सुदुरपश्चिमका तीन जिल्लामा गरि ९ ठाउँमा शाखा कार्यालयहरु बिस्तार गरिसकेको छ । जसमा सबैभन्दा धेरै कैलाली र त्यसपछि कञ्चनपुर जिल्लामा शाखा कार्यालयहरु बिस्तार गरिएको छ । कैलाली जिल्लामा मात्र पाँच स्थानीय तहहरुमा शाखा बिस्तार गरिएको छ ।
कैलालीकै धनगढीमा मुख्य कार्यालय रहेको उक्त संंस्थाले टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकामा शाखाहरु बिस्तार गरेको छ । यस्तै कञ्चनपुरका तीन र बाजुराको एक स्थानीय तहहरुमा समेत शाखाहरु विस्तार गरिएको छन । कञ्चनपुरको भिमदत्त नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बाजुराको त्रिवेणि नगरपालिकामा शाखा कार्यालय विस्तार गरेर सस्थाका कार्यक्रमहरु सुरु गरिएका छन ।
कैलालीका विभिन्न स्थानीय तहहरुमा रहेका शाखा कार्यालयले आआफ्नो स्थानीय तह अन्तर्गत विभिन्न ठाउँमा सम्पर्क कार्यालय र सेवा केन्द्र समेत विस्तार गरेका छन । टीकापुर नगरपालिकामा रहेको शाखा कार्यालयले नारायणपुर, खक्रौला, मोतिनगर र जानकी गाउँपालिकाको दुर्गौलीमा सम्पर्क कार्यालय बिस्तार गरेको छ भने लम्की चुहा नगरपालिकामा रहेको शाखा कार्यालयले प्रतापपुर, भल्का र गुलौरामा सेवा केन्द्र समेत विस्तार गरेको छ ।
यस्तै भजनी नगरपालिकामा रहेको शाखा कार्यालयले खैलाड, थापापुर र लालबोझीमा सम्पर्क कार्यालय विस्तार गरेको छ भने घोडाघोडी नगरपालिकामा रहेको शाखा कार्यालयले सुखडमा सेवा केन्द्र बिस्तार गरेको छ ।
यस संस्थाले अहिल कृषि सम्बन्धि विभिन्न तालिमहरु दिने, सुपथ मुल्यमा पशुपालनका लागि बाख्रा, भैंसी, गाई, बुंगुर किसानहरुलाई दिने लगायत विभिन्न सीपमूलक तालिमहरु समेत सिकाउने कार्यहरु गरिराखेको छ । पछिल्लो समय फारवेष्ट एग्रीकल्चरले १० देखि १५ बर्ष अवधीका लागि बालवन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
उक्त साधारणसभा कार्यक्रममा सस्थाको गत आर्थिक बर्षको आयव्यय समेत प्रस्तुत गरिएको थियो । उक्त संस्थाका संस्थापक सदस्य नवीन बोगटीले संस्थाको कार्यबिधी बारे प्रकाश पार्दै आयव्यय प्रस्तुत गरेका थिए भने बर्दगोरिया गाउँपालिका अन्तर्गत रहेको बौनिया शाखाकि प्रमुख बालकुमारी सुनारले शुभकामना मन्तव्य राखेकी थिईन ।
बालिका बोगटीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन दुर्गा चन्दले गरेकी थिइन । कार्यक्रममा विभिन्न शाखाका प्रमुख सहित थुप्रै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।