जसपाको नाममा फर्जी पत्र बुझाएको खुलासा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

जसपाको नाममा फर्जी पत्र बुझाएको खुलासा



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थनमा पार्टीको फर्जी पत्र प्रयोग गरिएको जनाएको छ। आफूलाई गण्डकी प्रदेश समिति अध्यक्ष भन्दै अनिल परियार भन्ने व्यक्तिले पठाएको पत्र फर्जी रहेको जसपाले जनाएको हो।

जसपाको साधारण सदस्यसमेत नरहेका परियारले फर्जी लेटर प्याड र स्टाम्प प्रयोग गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जनाएका छन्।

‘अनिल परियार जसपाको साधारण सदस्य पनि छैनन्। गण्डकी प्रदेश समितिको अध्यक्षमा मोति रिजाल रहनु भएको छ,’ अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प प्रयोग गरेर दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालजासी र फर्जी कार्य हो।’

अधिकारीले यस प्रकारको अनधिकृत कार्य नगर्न सम्बन्धित सबैलाई चेतावनी दिँदै फर्जी र जालजासीपूर्ण कार्य गरेको पाइए कानुनअनुसार सजायको भागिदारी बन्नुपर्ने सचेत गराएका छन्। जसपा प्रतिगमन र प्रतिगमनकारीको विपक्षमा सँधै अडिग रहने उनले स्पष्ट पारेका छन्।