बुटवलमा फर्जी ‘लालपूर्जा’ वितरण गरेपछि जसपाले जनायो आपत्ति - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

बुटवलमा फर्जी ‘लालपूर्जा’ वितरण गरेपछि जसपाले जनायो आपत्ति



बुटवल- जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर कमिटीले बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित हात्तीसुड टोल विकास समिति अन्तर्गतका विभिन्न सुकुम्बासी वस्तीमा बाँडिएको जग्गाधनी प्रमाणपत्रबारे आपत्ति जनाएको छ । जसपा बुटवल नगर कमिटिले एक विज्ञप्ति जारी गर्दै टोल विकास संस्थाकै पदाधिकारीको संलग्नतामा सोझा साझा सर्वसाधारणलाई घडेरी दिने आश्वासन दिएर लाखौं रकम असुली गरी फर्जी जग्गाधनी पूर्जा छपाई गरेर बाँडेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

स्थानीय बासिन्दाहरुले पार्टीमा गुनासो गरेपछि जसपाकै समन्वयमा पत्रकार सम्मेलन गरी स्थानीयहरुको समस्या उजागर गरिएको जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘टोल विकास संस्थाका पदाधिकारीहरुले सार्वजनिक जग्गा आफुखुशी बेचविखन गर्ने, गैरकानुनी हर्कत ढाकछोप गर्न प्रहरी र पत्रकार समेतलाई घडेरी बांड्ने काम आपत्तिजनक र लज्जास्पद हो ।’

‘त्यस्ता गैरकानूनी हर्कतका कारण कानुनी शासनको धज्जी उडाएको र राजनीतिक दलको आवरणमा अपराध गर्न छुट भएको मान्यता स्थापित गराएको भन्दै आपत्ति जनाएको छ’ जसपाका नगर अध्यक्ष बामदेव भुसाल तथा सचिव तेजु रानाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ – ‘अन्यत्र जग्गाजमिन भएका व्यक्तिलाई समेत टोल विकास संस्थाका पदाधिकारीले सुकुम्बासीलाई जस्तै घडेरी बांड्ने गैरकानूनी हर्कत गरेको पाइएकाले यस्तो गम्भीर अपराधलाई कुनै हालतमा छुट दिनु हुंदैन ।’

स्थानीयहरुले आफूहरु ठगिएको र टोल विकास संस्थाका अपारदर्शी एवं आर्थिक अनियमितताका कुराहरु सार्वजनिक गरेपछि संस्थाका पदाधिकारीहरुले सर्वसाधारणलाई धम्काउने, डर त्रास देखाउने गरेको सार्वजनिकरुपमा बताइसकेकाले उक्त टोल विकास संस्थालाई शिल गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगयातका निकायबाट निष्पक्ष र स्वतन्त्र छानवीन गरी दोषीमाथि कडा कारवाही गर्न जसपाले माग गरेको छ ।