ल्याबैपिच्छे फरक रिपोर्ट: कोरोना र परिक्षणमाथि नै शंका - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ल्याबैपिच्छे फरक रिपोर्ट: कोरोना र परिक्षणमाथि नै शंका



काठमाडौं- ललितपुर महानगरपालिका–२७ बस्ने एक युवती स्वास्थ्यमा समस्या आएपछि दुई महिनादेखि घरमा बसिरहेकी थिइन्। पत्थरीको शल्यक्रिया गरेर आराम गरिरहेकी उनी शरीरमा राखिएको पाइप निकाल्न केही दिनअघि वीर अस्पताल पुगिन्।

अस्पतालले पिसिआर जाँच गरेपछि मात्र पाइप निकाल्न सकिने बताएपछि उनले वीरमै स्वाब दिइन्। पिसिआर रिपोर्टको पर्खाइमा रहेकी उनलाई गत आइतबार स्वास्थ्य मन्त्रालय र वडा कार्यालयबाट फोन गरेर कोरोना पोजेटिभ देखिएको जानकारी गराइयो। उनलाई घरमै सुरक्षित रूपमा बस्न भनियो।

घरमै आराम गरिरहेकी उनलाई कोरोना पोजेटिभ देखिएपछि परिवारै तनाबमा प-यो। रिपोर्टप्रति विश्वास नलागेपछि उनले मंगलबार टेकुमा पुगेर पुनः पिसिआर परीक्षणका लागि स्वाब दिइन्। टेकु अस्पतालले बुधबार उनको रिपोर्ट नेगेटिभ आएको जानकारी गरायो।

छोटो अवधिमा गरिएका दुई परीक्षणको रिपोर्ट फरकफरक आएपछि अन्योल भयो, जुन स्वाभाविक पनि हो। ‘पहिला रिपोर्ट पोजेटिभ आएको भन्दै सुरक्षा सतर्कता अपनाउन भनियो। विश्वास नलागेर पुनः परीक्षण गर्दा नेगेटिभ देखियो। यसले हामी अन्योलमा छौं,’ ती युवतीका बाबुले भने।

पहिलो परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि बेचैन बनेको युवतीको परिवारले दोस्रो परीक्षणबाट नेगेटिभ रिपोर्ट आएपछि राहत महसुस गरेको छ। ‘सुरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको टेलिफोनबाट जानकारी पाएपछि रातभर सुत्न सकेनौं, छोरी एउटा कुनामा, पत्नी एउटा कुनामा र म अर्काे कुनामा बस्यौं, किरियापुत्री जस्तै छुट्टाछुट्टै बस्यौं,’ उनले भने।

छोरीको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि तनावमा परेका उनले सोह्र श्राद्धको तिथिमा श्राद्धसमेत गर्न नपाएको गुनासो गरे। ‘घरमै आराम गरिरहेकी छोरीको रिपोर्ट पोजेटिभ आएपछि हामीलाई विश्वास लागेन। त्यसमाथि हामी सचेत पनि थियौं। त्यसैले पुनः टेस्ट गरायौं। पहिलो रिपोर्टलाई विश्वास गरेको भए कति दुःख र तनाब भोग्नुपथ्र्याे होला ?’ उनले भने।

केही समयअघि काठमाडौंको एक निजी क्लिनिकमा कार्यरत चिकित्सकले पाटन अस्पतालमा कोरोना पिसिआर परीक्षण गराए। परीक्षण रिपोर्ट पोजेटिभ आयो। त्यो रिपोर्टप्रति विश्वास नलागेपछि ती चिकित्सकले टेकुमा गएर पुनः पिसिआर परीक्षण गराए। त्यहाँबाट भने रिपोर्ट नेगेटिभ आयो।

सुरुमा कोरोना पोजेटिभ देखिएपछि ती चिकित्सक मात्र नभएर सम्पर्कमा रहेका पनि तनाबमा परे। तर टेकुमा गरिएको परीक्षणबाट रिपोर्ट नेगेटिभ अएपछि सबैले राहतको सास फेरे। ‘उहाँको पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारी पाएपछि हामी पनि निकै आत्तियौँ, पुनः अर्काे प्रयोगशालामा टेस्ट गराउँदा नेगेटिभ देखियो,’ ती चिकित्सकको सम्पर्कमा रहेका एकजनाले भने।

यी केही प्रतिनिधि घटना हुन्। सुरुमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएका मानिसले लगत्तै पुनः जाँच गराउँदा नेगेटिभ आएको घटना धेरै छन्। छोटो समयमै आउने यस्तो अन्तरले पिसिआर परीक्षणको विश्वासनियतामाथि पनि प्रश्न उठेको छ। साथै, पोजेटिभ नभएकाले पनि अनावश्यक तनाब बेहोर्नुपरेको नागरिकले समाचार बनाएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोला सुरुदेखि नै यस्ता घटना फाटफुट आउने गरेको बताउँछन्। दुई अवस्थामा फरकफरक रिपोर्ट आउन सक्ने उनी बताउँछन्। उनका अनुसार कहिलेकाहीं निको हुने अवस्थामा परीक्षण गराउँदा फरकफरक रिपोर्ट आउन सक्छ र कहिलेकाहीं स्वाबको सम्वेदनशीलताका कारण पनि यस्तो हुन सक्छ। हालसम्मको परीक्षण विधिमा पिसिआर नै तुलनात्मक रूपमा विश्वसनीय रहे पनि यो सतप्रतिशत सही भने नहुने उनी बताउँछन्। ‘हामीसँग उपलब्ध प्रविधिमा पिसिआरभन्दा उत्कृष्ट प्रविधि छैन तर यो पूर्णरूपमा विश्वसनीय हुन्छ भन्ने होइन्,’ उनले भने।

डा. बास्तोला रिपोर्ट पोजेटिभ आउँदैमा आत्तिन नहुने बताउँछन्। ‘अब रिपोर्ट पोजेटिभ आयो भनेर डराउने सोचमा परिवर्तन गर्नु जरुरी छ। लक्षण देखिएका व्यक्तिहरू स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्छ। अवस्था जटिल देखिए तुरुन्त अस्पताल जानुपर्छ,’ उनी भन्छन्।