म फरक फुटबलर भएको प्रमाणित गर्छु: रोनाल्डो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

म फरक फुटबलर भएको प्रमाणित गर्छु: रोनाल्डो



एजेन्सी : प्रायः खेलाडी ३३ वर्षको उमेरमा वि श्रामतिर पुग्छन् । पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले भने आफू ३३ वर्षकै उमेरमा लय गुमाउनेमध्येका फुटबलर नरहेको दाबी गरेका छन् । इटालियन क्लब युभेन्टससँग अनुबन्धित भएपछिको आफ्नो पहिलो पत्रकार सम्मेलनमा रोनाल्डोले खेलबाटै आफू फरक फुटबलर भएको प्रमाणित गर्ने दाबीसमेत गरेका छन् ।

रोनाल्डो अघिल्लो साता मात्रै स्पेनिस क्लब रियल म्याड्रिड छाडेर १३ करोड १५ लाख अमेरिकी डलरमा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले युभेन्टससँग आगामी चार वर्षका लागि सम्झौता गरेका हुन् । बढ्दो उमेरसँगै आफ्नो सक्रिय खेलजीवनको अन्त्यतिर पुगेको आकलन गरिएका रोनाल्डोका लागि यत्तिको रकम खर्च गर्नु अनावश्यक भएको चर्चा चलिरहेकै बेला उनले यस्तो जवाफ फर्काएका हुन् ।

रियल म्याड्रिडमा नौ वर्ष बिताएका रोनाल्डोले नयाँ क्लबसँग अनुबन्धित हुँदा देखिएका नयाँ चुनौतीबाट आफू अझ उत्साहित भएको बताए । ‘म सम्मानका साथ भन्न चाहन्छु, मेरा उमेरका कतिपय खेलाडीहरू कतार वा चीन जान्छन् । त्यसैले अहिलेको अवस्थामा युभेन्टसजस्तो क्लबसँग अनुबन्धित हुन पाउनु मेरा लागि निकै खुसीको कुरा हो’, रोनाल्डो भन्छन्, ‘जो खेलाडी मेरो उमेरमा आफ्नो खेलजीवन सकिएको ठान्छन्, म उनीहरूभन्दा फरक फुटबलर हुँ । यो मेरा लागि भावुक हुनुपर्ने क्षण पनि हो । किनभने म २३ हैन ३३ वर्षको पुगेको छु । यद्यपि म यो उमेरमा खेलजीवन सकिएको हुँदैन भनेर देखाउन पनि चाहन्छु ।’

रोनाल्डोले आफूले नयाँ क्लबबाट धेरै ठूला सफलताको आशा गरेको पनि बताए । ‘म यहाँ बिदा मनाउन आएको हैन’, उनले भने, ‘म युभेन्टसमा इतिहास बनाउन चाहन्छु र, मलाई विश्वास छ फेरि एक पटक सबैलाई आश्चर्यचकित बनाउन सफल हुनेछु ।’ रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड पुगेका थिए । स्पेनमा चार सय ३८ खेलबाट चार सय ५१ गोल गरेका रोनाल्डो रियल पुगेपछि क्लबका सर्वाधिक गोलकर्ता बने । उनले रियललाई स्पेनिस ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरे ।

सन् २०१७ मा रियलले युभेन्टसलाई नै पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोले सशक्त प्रदर्शन गरेका थिए । सन् २०१६ मा पोर्चुगललाई युरोकपको उपाधि समेत दिलाएका रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट पनि युरोपियन च्याम्पियन्स लिग, तीनवटा इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधि जितेका थिए । युरोपका दुई ठूला क्लबबाट हात पारेका यी ठूला सफलतालाई उनले इटालीमा पनि निरन्तरता दिने बताए ।

सोमबार आफ्नो स्वास्थ्य परीक्षणका लागि एलिएन्ज स्टेडियम पुग्दा रोनाल्डोलाई स्वागत गर्न हजारौं समर्थकहरू पुगेका थिए । समर्थकले ‘ब्रिङ अस च्याम्पियन्स लिग’ (हामीलाई च्याम्पियन्स लिग ल्याइदेऊ) को नारा लगाएका थिए । युभेन्टसले सन् १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसयता युभेन्टस पाँच पटक फाइनलमा पुगेर पनि उपाधिबाट चुक्दै आएको छ ।