सर्वोच्चको फैसलाले बाबुरामको रोग नै निको भएपछि…
काठमाडौं- जनता सामाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला गर्दा आफ्नो रोग नै हराएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पुष ५ मा संसद भङ्ग गरेपछि चर्को आलोचना गर्दै आएका भट्टराईले सर्वोच्च अदालतले संसदलाई पुर्नस्थापना गर्ने फैसलालाई अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको समेत बताएका छन् ।
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याई दिएको हो ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनर्स्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनर्स्थापना गर्ने निर्णय गरेको हो ।
फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश समेत दिइएको छ । उक्त निर्णय उपर टिप्पणी गर्दै भारतमा उपचाररत् भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो ! हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’