अब कक्षा ११ र १२ मा नयाँ नियम: 'फ्याकेल्टी' छुट्याउन नपाइने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अब कक्षा ११ र १२ मा नयाँ नियम: ‘फ्याकेल्टी’ छुट्याउन नपाइने



काठमाडौं- अब विद्यालयले कक्षा-११ मा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ।

विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए। अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने उनको भनाई छ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर संकायका आधारमा त्यसलाई मान्यता दिइँदैन। यसपटकबाट कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ। विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ।

कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो । एकलपथीय प्रणालीमा संकाय छुट्याएर अब भर्ना हुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि संकायका आधारमा नदिइने भएको छ।

कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा संकायका आधारमा गर्ने गरिएको थियो।