फेसबुक चलाउने पुस्ता ! - Himal Post Himal Post
  • २३ आश्विन २०८१, बुधबार
  •      Wed Oct 9 2024
Logo

फेसबुक चलाउने पुस्ता !



-दीपक घिमिरे

बा’को पुस्ता बाट फेसबुक मोहको कुरा गरौँ ।

एक जना अंकल हुनुहुन्छ , चौबिस घण्टा फेसबुकमा अनलाइन बस्ने । मैले एक दिन सोधे ‘ चौबिस घण्टा अनलाइन देख्छु , के गर्नुहुन्छ फेसबुकमा ? ’

उहाँले सजिलो उत्तर दिनुभयो ‘ समाचार हेर्छु , देश विदेशका कुरा थाहा पाउछु । समय कटाउने सजिलो माध्यम भएको छ यो फेसबुक । ’
हो ! बा हरुको पुस्ताले फेसबुकलाई एउटा समाचारको स्रोतको रूपमा लिन्छ । उनीहरू फेसबुककै माध्यमबाट हिजो आज अनि भोलि थाहा पाउँछन् । यसको मतलब युवा पिढीले हिजो आज अनि भोलि थाहा नपाउने भन्ने चैँ होइन । तर फरक यत्ति हो कि बा पुस्ताहरु फेसबुकलाई सकारात्मक काममा प्रयोग गर्दछन् र यस्लाई एउटा महत्वको रूपमा लिन्छन ।

अब आमा पुस्ताको फेसबुक मोह बारे चर्चा गरौँ । पुर्णिमा अधिकारी नाम गरेकी मेरी फूपू हुनुहुन्छ , उमेरले सत्तरी पार गरेकी । उहाँको आफ्नै फेसबुक एकाउण्ट छ । उमेरले नेटो काटिसकेकी मेरी फूपू न पढन जान्नुहुन्छ न त लेख्न नै । कलमले कापी मा लेख्न नसक्ने मेरी फूपू मोबाइलको स्क्रीनमा लेख्न सक्ने कुरै भएन तर पनि उहाँ धेरै समय अनलाइन नै देख्छु ।

एक दिन सोधे ‘ किन फेसबुक एकाउण्ट बनाएको ? न पढन सक्नु हुन्छ न त लेख्न नै तर पनि अनलाइन बस्नु भएको हुन्छ । ’
उहाँले फेसबुकको उपयोगितालाई सकारात्मक ढङ्गले प्रष्ट्याउदै भन्नुभयो ‘ अमेरिकामा बस्ने छोरा बुहारी अनि नाति सँग भिडियोमा गफ गर्न पाउछु , नातीहरु नजिकै भएको महसुस गर्छु अनि उनीहरूका फोटा हेर्न पाउछु । त्यसैले बनाउन पठाकी हु , कान्छो नातिले बनाईदेको हो उतै अमेरिका बाट । ’

बा हरू समाचार र देश दुनियाँ बारे बुझ्न फेसबुक चलाउछन भने आमाहरू पारिवारिक सम्पर्कको लागि । उनीहरूको पुस्ताले फेसबुकलाई सकारात्मक तरिकाले प्रयोग गरेको छ । यो सकारात्मक सन्देश हो ।फेसबुक चलाउने युबापुस्ता हरू पनि दुई तीन वर्गका छन् । एउटा पुस्ताको एकैछिन चर्चा गरौँ ।

कलेज लेवलको पढाइलाई निरन्तरता दिँदै गरेको एउटा भाइ छ । उ बिहान बेलुका अनलाइन हुन्छ । बिहान कलेज जादाँ सम्म अनलाइन हुने त्यो भाइ बेलुका अबेर सम्म अनलाइन बस्छ । राति एघार बजे सम्म अनलाइन बसेको देखेर च्याट बाटै सोधे ‘ किन यति अबेर सम्म अनलाइन ? सुत्नु पर्दैन , कलेज जानु पर्दैन भोलि ? ’
उसले म्यासेज हेरेको धेरै पछि उत्तर दिँदै भन्यो ‘ छम्मा सँग गफ लगाउदै छु दाइ । ’राती अबेर सम्म अनलाइन बसेर छम्मा सँग गफ लगाउने त्यो भाइले महिनामा एक पटक प्रोफाईल फोटो बदल्छन अनि गर्लफ्रेन अनलाइन नआउदा सम्म अरूका पोस्टमा लाईक र कमेन्ट गरेर बस्छन । फेसबुकको उपयोगिता बारे सोध्दा उनले भन्छन् ‘ डाईरेक्ट फोनमा भन्न नसकेको कुरा च्याटमा भन्न पाइएको छ । गर्लफ्रेन पट्याउन सजिलो भएको छ । बाकी फाइदा त छैन दाइ , डाटाँ बाट चलाउदा पैसाको सत्यानाश मात्र हो । के फाइदा हुन्छ र अरू ? च्याट ग¥यो , दिन कटायो । ’

युवा पुस्ताको फेसबुक मोहलाई हेर्ने हो भने कलेज लाईफमा प्रवेश गरेका युवाहरू घण्टौ गर्लफ्रेन या ब्वाईफ्रेन सँग गफिन फेसबुकको प्रयोग गर्दछन् । बाकी बचेको समयमा साथीभाईको पोस्टमा लाईक कमेन्ट गरेर समय कटाउने उनीहरूको आफ्नै फेसबुक स्टाईल छ , जो चलिरहन्छ निरन्तर प्रेमिल जोडी नबन्दा सम्म ।

युवा पुस्ता माझ लोकप्रिय जस्तै भएको फेसबुक कलेज जीवनका युवाहरूको लागि सकारात्मक भन्दा बढी नकारात्मक प्रयोग भएको पाइन्छ । उनीहरू फेसबुक च्याटकै लागि बढी प्रयोग गर्दछन् जो सकारात्मक रूपमा लिन सकिँदैन ।

युवाहरुकै वर्गमा पर्ने अर्काथरी युवाहरू फेसबुकलाई सामाजिक काममा लगाउन प्रेरित गर्ने माध्यमको रूपमा लिन्छन । ती युवाहरूले सामाजिक अभियन्ता , प्रहरी , पत्रकार अनि बुद्धिजिबीहरुले पोस्ट गरेका पोस्टमा लाईक मात्र होइन , आवश्यकताको आधारमा सामाजिक काममा या सहायताको लागि आफू अग्रसर हुने र तयार भएको जानकारी पनि फेसबुकबाटै गराउछन ।एक जना युवा छन् उमाकान्त भण्डारी । जो धेरै जसो सामाजिक काममा अग्रसर देखिन्छन । उनलाई एक दिन सोधे ‘ तिमी फेसबुक किन चलाउछौ ? ’
उनले फेसबुक बारे सकारात्मक हुँदै भने ‘ अबको जमानामा जनता एकजुट गराउने , आवश्यकता दर्शाउने अनि पीडितको न्यायका लागि

अग्रसर हुने या कुनै गरिब या असहायको सहायताको लागि अपिल गर्ने माध्यम नै फेसबुक हो । यहाँ बाट आवश्यकता र सहायता बारे बुझेर सामाजिक काममा अग्रसर हुने गरेको छु । त्यसैले समग्रमा भन्नू पर्दा मैले फेसबुकलाई पहुच वाला मिडियाको रूपमा लिएको छु । जसको रियाक्सन तुरुन्तै देख्न पाइन्छ । ’

उनको कुरामा निक्कै दम थियो । अलि अघिको कुरा हो , अन्नपूर्ण पोस्टका तत्कालीन पत्रकार उदय जिएम र नयाँ युगबोध दैनिकका पत्रकार नरेन्द्र केसीले चालेको फेसबुक अभियान बाट एउटा गरिब परिवारको छोराले जिबनदान पाएको थियो । जिब्रो बाहिर निस्केर सुन्नियको अवस्थामा उपचार गर्न आर्थिक अभावले मृत्यु कुरेको बालकलाई चालिस लाख भन्दा माथिको सहयोग राशि उठाउने अभियान फेसबुक मार्फत चलेको थियो । उमाकान्त भण्डारीको फेसबुक बुझाइमा यो उदाहरण उत्कृष्ट थियो ।

यो मात्र होइन , उमाकान्त भण्डारीको फेसबुक बुझाइलाई हेर्ने हो भने धेरै त्यस्ता उदाहरणहरू छन् जो फेसबुककै कारणले सकारात्मक सन्देश दिएका छन् । आर्थिक अभियान चलाउने देखि खबरदारी गर्ने सम्म , राजनैतिक संस्कार नेतालाई सिकाउने देखि शैक्षिक वातावरण बनाउने सम्मका अभियान फेसबुककै माध्यमले सम्भव भएका छन् ।

यसरी पुस्तै पिच्छे फेसबुकको महत्त्व फरक फरक देखिन्छ । समग्रमा भन्नुपर्दा फेसबुकले बिक्रृती निम्त्यायको छ तर फेसबुक प्रयोग गर्ने तरिकालाई सकारात्मक ढगंबाट लगियो भने यो एउटा जीवन जिउने आधार पनि हो ।