एउटा यस्तो रोग जुन सन्तान जन्मिएपछि लाग्छ
बीबीसी
तपाईं गर्भवती भएपछि परिक्षणको लागि जाँदा डाक्टरले तपाईंलाई तपाईंको बच्चा, तौल र कति पटक बान्ता भइरहेको छ भनी नसोधी यदि यस्ता प्रश्न सोधे – ‘के तपाईं कुनै कुराको रमाइला पक्ष देख्नुहुन्छ ? केही गलत हुँदा आफूलाई नै जिम्मेवार ठहराउनु हुन्छ ?’
तपाईं सुरुमा अक्क न बक्क पर्नुहुन्छ होला ।
विशेषगरी, जब तपाईं पहिलो पटक आमा बन्दै हुनुहुन्छ र यस्ता प्रश्न डाक्टरले सोधेका छन् भने यसलाई तपाईंले नबुझ्न पनि सक्नुहुन्छ । पहिलो पटक आमा बन्दाका प्रत्येक क्षण नयाँ लाग्छन् र हुन्छन् त्यसकारण यस्ता प्रश्नले तपाईंको मनमा विभिन्न शंका उपशंका उब्जाउन सक्छन् ।
अष्ट्रेलियामा बस्ने कादम्बरीसँग पनि केही यस्तै भयो । कादम्बरी दोस्रो पटक आमा बन्दै थिइन् । यस पटक उनी अष्ट्रेलियामा थिइन् । उनको पहिलो सन्तान (छोरी) भारतमा जन्मिएकी थिइन् ।
कादम्बरी जब अष्ट्रेलियामा डाक्टरलाई भेट्न गइन्, तब उनलाई डाक्टरले यस्तै पाँच–सात प्रश्न सोधे–
‘के तपाईं धेरैजसो दुःखी रहनुहुन्छ र रुन मात्र मनलाग्छ ?’ ‘के तपाईं आफूलाई कसरी क्षती पुर्याउने भन्ने बारे सोच्नुहुन्छ ?’
डाक्टरको यस्तो प्रश्न सुनेर कादम्बरीलाई अलिकति पनि महसुस भएन कि जुन प्रश्न उनलाई सोधियो त्यो कुनै रोगसँग सम्बन्धित छ । सुरुमा उनले केही नबुझी र कुनै प्रतिप्रश्न नगरी सबै प्रश्नको जवाफ दिइन् ।
तर दोस्रो पटक जब डाक्टरले उनलाई आफूसँग ठ्याक्कै मिल्ने प्रश्न सोधे तब उनी आफूलाई रोक्नै सकिनन् र उनले प्रश्न सोधिहालिन्, ‘आखिर यी प्रश्नको मेरो गर्भावस्थासँग के सम्बन्ध छ ?’
कादम्बरीको यो प्रश्न केही हदसम्म सही पनि थियो । जब उनी पहिलो पटक आमा बनेकी थिइन् तब उनी भारतमा थिइन् । त्यतिबेला डाक्टरले कहिले पनि उनलाई यस्ता प्रश्न सोधेका थिएनन् ।
कादम्बरीले जवाफ पाइन्, ‘यी सबै प्रश्न यसकारण ताकि हामीले यो पत्ता लगाउन सकूँ कि तपाईं पोष्टपार्टम डिप्रेशनसँग जुधिरहनु भएको त छैन ।’
त्यतिबेला पहिलो पटक कादम्बरीलाई पोष्टपार्टम डिप्रेशनबारे थाहा भयो । प्रसवपछि महिलाको व्यवहारमा उदासी, तनाव, चिडचिडाहट र रिस जस्ता परिवर्तन आउने डाक्टरले उनलाई बताए । यस्तोमा महिलालाई पारिवारिक सहयोग र उपचारको आवश्यकता पर्ने डाक्टर बताउँछन् ।
कादम्बरी बताउँछिन्, ‘यो मेरो लागि पहिलो र निकै सुखद अनुभव थियो । अहिलेसम्म शारिरिक समस्याबारे मात्र कुरा हुन्थ्यो, तर अब कसैले मेरो मानसिक स्थितीबारे पनि कुरा गरिरहेको थियो जसलाई साधारण रुपमा बुझ्न निकै मुश्किल हुन्छ ।’
‘जब डाक्टरले मलाई पोस्टपार्टम डिप्रेशनबारे बताए तब मलाई थाहा भयो कि पहिलो प्रसवपछि मैले आफ्नो व्यवहारमा यस्तो परिवर्तन महसुस गरेको थिएँ । त्यतिबेला मैले जुन अस्पतालमा उपचार गराएको थिएँ त्यहाँको डाक्टरले मलाई यस्ता कुनै पनि परिवर्तन बारे बुझाएनन् । मैले परिवारबाट निकै सहयोग पाएँ त्यसकारण यस्ता समस्या आफैं ठिक भयो ।’
के हो पोस्टपार्टम डिप्रेशन ?
कादम्बरी भन्छिन्, ‘जब पहिलो सन्तान जन्मियो तब मलाई बच्चाको कसरी हेरबिचार गर्ने भन्ने थाहा थिएन । मलाई आफ्नो शरिरको पनि थोरै चिन्ता थियो । त्यसकारण म सानो कुरामा नै रिसाउँथे । मैले आफूलाई नै सम्हाल्न सक्दिनथें, मलाई निकै रिस उठ्थ्यो । अफिसमा हुँदा घरको चिन्ता हुन्थ्यो र घरमा हुँदा अफिसको तनाव हुन्थ्यो मलाई ।’
मनोचिकित्सक डा. प्रविण त्रिपाठीका अनुसार यो समस्या करिब २० देखि ७० प्रतिशत महिलामा हुन्छ । सुरुवाती स्तरमा यसलाई पोस्टपार्टम ब्लूज भनिन्छ ।
यसको लक्षण निकै सामान्य हुन्छ । जस्तै मुड स्विङ, उदासी, चिडचिडापन, रुन मात्र मन लाग्ने र बच्चालाई सम्हाल्न सक्छु कि सक्दिनँ भन्ने चिन्ता हुनु ।
व्यवहारमा आएका यस्ता परिवर्तन केही समयपछि आफै ठिक हुन्छ । यसका लागि कुनै औषधीको आवश्यकता पर्दैन । तर यदि लक्षण बढे उपचार आवश्यक छ ।
रोग बढे निन्द्रा नलाग्ने, भोक नलाग्ने, बिरामी आफैंमा हराइरहने र आत्महत्याको बिचार आउने । यो रोगको भिन्न स्तर हो र यसलाई पोस्टपार्टम डिप्रेशन भनिन्छ ।
यसमा थुप्रै पटक महिलाले आफ्नो बच्चाको हेरबिचार गर्नै छोडिदिन्छन् । उनीहरु बच्चाको लागि खतरनाक पनि साबित हुन्छन् । यद्यपी, यस्ता निकै कम मुद्दा हुन्छन् ।
दिल्लीको जीबी पन्त अस्पतालमा स्त्रीरोग विशेषज्ञ भानुप्रियाका अनुसार प्रसवपछि हुने मानसिक समस्या जुनसुकै प्रकारको हुनसक्छ ।
जसको अर्को एक हिस्सा हो पोस्टपार्टम एंग्जाइटी । यसमा महिला आफ्नो बच्चाका लागि निकै डराउने गर्छिन् । उनलाई हरेक कुरामा खतरा महसुस हुनथाल्छ । थुप्रै पटक उनीहरु आफ्नो बच्चा कसैलाई पनि छुन दिँदैनन् ।
के हो पोस्टपार्टम डिप्रेशनको कारण ?
डा. प्रविण त्रिपाठीका अनुसार आमाको व्यवहारमा जुन परिवर्तन आउँछ त्यसको विभिन्न कारण हुनसक्छन् । जसमध्ये केही यस प्रकारका छन्ः
– प्रसवपछि महिलाको हर्मोन्समा परिवर्तन हुन्छ । यसमा एस्ट्रोजन, प्रोजेस्टोन, टेस्टोस्टेरोनजस्ता हर्मोनमा परिवर्तन हुन्छ जसको असर उनीहरुको व्यवहारमा पर्दछ ।
– यसमा साथै सामाजिक कारण पनि हुनसक्छ । जस्तै छोराको चाहना छ र छोरी भयो भने महिलाले निकै तनाव र दबाबको सामना गनुैपर्छ ।
– साथै, महिलामाथि अन्य विभिन्न दबाब हुन्छ । बच्चा र घरको धेरैजसो जिम्मेवारी महिलामाथि हुन्छ र उनीहरु शारिरिक रुपमा कमजोर पनि हुन्छन् ।
– यी सबैबिच यदि अफिस पनि छ भने उनीहरुभित्र काममा राम्रो प्रदर्शन गर्न सक्दिनँ कि भन्ने डर । अफिस आउन ढिलाई वा बच्चाको कारण पटक–पटक छुट्टी लिनुपर्दा उनीहरुलाई आफू पछि परेको महसुस हुनथाल्छ । करियरका कारण पनि उनीहरुलाई तनाव हुनसक्छ ।
– महिलाहरु के कुरालाई कसरी सोच्छन् भन्ने कुरा पनि महत्व राख्छ । उनीहरु आफ्नो शरिर मोटो भएका कारण पनि तनावमा हुनसक्छन् ।
उपचार के छ ?
यदि लक्षण सुरुवाती छ भने यसका लागि औषधीको आवश्यकता पर्दैैन । तर रोग बढ्दै जाँदा मनोचिकित्सकलाई देखाउन आवश्यक छ ।
डा. प्रविणका अनुसार प्रसवपछि महिलालाई परिवारको सहयोग पनि निकै आवश्यक पर्छ । उनीहरु थुप्रै शारिरिक र मानसिक परिवर्तनबाट गुज्रिरहेका हुन्छन् । यस्तोमा उनीहरुमाथि राम्रो आमा बन्ने दबाब नदिनुहोस् र बच्चाको हेरबिचार गर्नमा सहयोग गर्नुहोस् । उनीहरुलाई भावनात्मक सहयोग दिनुहोस् र धैर्य गर्नुहोस् ।
यसका साथै मेडिकेशन थेरापी दिइन्छ र औषधीका साथै काउन्सिलिङमार्फत पनि उपचार गर्न सकिन्छ ।
अस्पतालले सही जानकारी दिने कुराले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । जस्तो कि कादम्बरीमाथि भयो । उनीसँग गर्भधारणका बेला उनको मनोदशामाथि कुरा गर्नुका साथै चेकअपका लागि आउने नर्सले घरपरिवारको व्यवहारबारे सोध्ने गर्दथे ।
यहाँसम्म कि कादम्बरीका श्रीमानसँग पनि उनी कस्ता तनाव र समस्यासँग गुज्रिरहेका छन् भन्ने बारे पनि सोधियो । यस्तोमा यदि अस्पतालको तर्फबाट समयमा नै सही जानकारी पाए बिरामीले निकै सहयोग पाउनेछ ।