एउटा आशंकाले बढायो प्रचण्ड र नेपालको दुरी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एउटा आशंकाले बढायो प्रचण्ड र नेपालको दुरी



काठमाडौं- सत्तारुढ दल नेकपाको विवादकैबीच अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सहमति गरेको चर्चा चलिरहेका बेला वरिष्ठ नेता माधव नेपाल समूह र प्रचण्डबीच दुरी बढेको छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भित्री समझदारी भएको हो कि भनेर नेपाल समूह सशंकित हो ।

प्रधानमन्त्री ओलीले अर्ली महाधिवेशन गरेर प्रचण्डलाई अध्यक्ष बनाउने प्रस्ताव गरेपछि नेकपाभित्रको विवाद मोडिएको छ भने नेपाल समूहले पनि प्रचण्ड अस्थिर भएकाले कुनै सहमति भैसकेको आशंका गरेको छ । यहि शंकाको कारण नेपाल समूहले अर्को बैठकसम्म पर्ख र हेरको रणनीति बनाएको छ । अर्को बैठकमा प्रचण्डको प्रस्तुति हेरेर मात्र अबको रणनीति तय गर्ने बताइएको छ ।

प्रचण्डले ओलीसंग सहमति गरेको हुनसक्ने आशंका गर्दै नेता नेपालले पछिल्लो सचिवालय बैठकमा दुई जना मात्रै मिलेर निकाश ननिस्कने भन्दै बताउँदै त्यसो भएको खण्डमा आफू देशव्यापी रूपमा उत्रने चेतावनी समेत दिएका थिए ।

नेपालको कडा प्रतिक्रिया आएपछि आइतबार बिहानैदेखि प्रचण्डले नेपाल समूहसँग भेटी छिटो महाधिवेसनको प्रस्ताव ओलीले गरेको तर त्यसमा आफू सहमत भइनसकेको बताउंदै आएका छन् ।

प्रधानमन्त्री ओलीले ल्याएको प्रस्तावमा पहिले सकारात्मक देखिएका प्रचण्डले आइतबार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटीका सदस्यहरुलाई आफूले कुनै सम्झौता नगरेको बताएका थिए। तर प्रचण्डको स्पष्टीकरणबाट नेपाल पक्ष अझै आश्वस्त भएको छैन।

नेपालले दुई अध्यक्षले मात्रै सहमति गरेर पार्टी चलाउन खोजे विधि र प्रक्रियाका लागि देशव्यापी अभियान चलाउने शनिबारको बैठकमा बताएका थिए। त्यस्तो अभियानमा उनले पार्टीको मार्ग निर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)लाई लिएर जाने तयारी गरेका छन्। जसको संकेत उनले आइतबार प्रचण्डलाई पनि दिइसकेका छन्।