ओमिक्रोन तिब्र फैलिएपछि युरोपका देशहरूमा भटाभट निषेधाज्ञा
काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन निरन्तर रूपमा फैलिरहेकाले युरोपेली मुलुकहरूले पुनः कोरोना भाइरस प्रतिबन्ध लागु गर्दैछन् ।
जर्मनी र पर्चुगलले क्रिसमसपछि प्रतिबन्ध र सामाजिक दूरी कायम गर्ने मापदण्डको घोषणा गरेका छन् ।
ओमिक्रोन थुप्रै युरोपेली मुलुकहरूमा पहिले नै प्रमुख ‘स्ट्रेन’को रूपमा रहेको छ ।
युरोपमा विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीले संक्रमणको वृद्धिले स्वास्थ्य प्रणालीलाई पतनको किनारामा धकेल्ने चेतावनी दिएका छन् ।
हान्स क्लूजले अर्को आँधीबेहरी आइरहेको भन्दै संक्रमण रोक्न सरकारहरूले उल्लेखनीय प्रयास गर्नुपर्ने बताए ।
जर्मनीले २८ डिसेम्बरदेखि १० जना भन्दा बढीको भेलामा पुनः प्रतिबन्ध लगाइने र नाइट क्लवहरू बन्द गर्ने घोषणा गरेको छ । यस्तै सोही मितिदेखि फुटबल पनि बन्द रंगशालामा खेलाइनेछ ।
“कोरोनाभाइरसले क्रिसमसको विश्राम लिदैन,” जर्मनीका चान्सलर ओलाफ स्कोल्जले मंगलबार भने, “हामीसामु लम्किरहेको अर्को लहरप्रति हामीले आँखा चिम्लन सक्दैनौ र त्यसो गर्नुपनि हुँदैन ।”
यसैबीच, पोर्चुगलले डिसेम्बर २६ देखि बार र नाइट क्लव बन्द गर्न आदेश दिएको छ । यस्तै, सोही मितिदेखि ज्यानुअरी ९ सम्म घरबाटै काम गर्न अनिवार्य गरेको छ भने बाहिर हुने भेलामा १० जनामा सीमित गरेको छ ।
बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनले क्रिसमसअघि इङ्गल्याण्डमा कुनै पनि प्रतिबन्धलाई अस्वीकार गरेका छन् तर स्कटल्याण्ड, वेल्स र उत्तरी आरल्याण्डमा सबै सामाजिक मेलालाई प्रतिबन्धको घोषणा गरेका छन् ।
स्वीडेनमा बार, क्याफे र रेस्टुरेन्टहरूले बुधबारदेखि सिटमा बसेका पाहुनाहरूलाई मात्र सेवा दिन सक्नेछन् । यस्तै सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह गरिएको छ । त्यहाँका स्वास्थ्यमन्त्रीले ओमिक्रोनको संक्रमण बढ्ने र स्वास्थ्य प्रणालीमाथिको बोझ बढ्न सक्ने बताए ।
नेदरल्याण्डले यसअघि नै कडा प्रतिबन्धहरू घोषणा गर्दै सोमबारदेखि कठा लकडाउनको घोषणा गरिसकेको छ । अरू यूरोपेली नेताहरूले सम्भव भएसम्म क्रिसमसपछि कडा प्रतिबन्धहरू लगाउनेबारे विचार गरिरहेका बीबीसीले जनाएको छ ।
युरोपियन युनियनको तथ्याङ्कअनुसार युरोपमा आठ करोड ९० लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १५ लाख मानिसको कोभिडसँग सम्बन्धित मृत्यु भएको छ ।- बीबीसी